“बिज्ञ क्याविनेट” को अडानमा बालेन : रास्वापा भित्र खैलाबैला

“बिज्ञ क्याविनेट” को अडानमा बालेन : रास्वापा भित्र खैलाबैला


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको छ। प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित्दै पार्टीले प्रतिनिधिसभामा झण्डै दुई तिहाइ बहुमत नजिक पुगेको छ। यो परिणामले रास्वपालाई एकलौटी सरकार गठन गर्ने स्पष्ट जनादेश प्राप्त भएको छ।

पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा चर्चित बालेन शाहले सरकार गठनको तयारी तीव्र पारेका छन्। उनले कार्यक्षमता र नतिजालाई प्राथमिकता दिँदै विज्ञहरूको क्याबिनेट निर्माण गर्ने योजना अघि सारेका छन्। सकेसम्म सांसदलाई मन्त्री नबनाई गैरसांसद तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूलाई मन्त्री बनाउने विषयमा निकटस्थ सांसदहरूसँग छलफल भइरहेको छ। बालेन निकट सांसद राजुनाथ पाण्डेले भने, ‘भावी प्रधानमन्त्रीले संसद् बाहिरका विज्ञ राखेर क्याबिनेट बनाउन पाए सरकारले राम्रो डेलिभरी दिन सक्छ भन्ने उनको बुझाइ छ।’

तर, यो योजनालाई कार्यान्वयन गर्न संवैधानिक जटिलता छ। नेपालको संविधानअनुसार गैरसांसद व्यक्तिले मन्त्री बनेमा ६ महिनाभन्दा बढी पदमा रहन सक्दैनन्। लामो समयसम्म यस्ता मन्त्री कायम राख्न संविधान संशोधन आवश्यक पर्छ। बालेनले ६ महिनाभित्र संशोधन गराई विज्ञ मन्त्रीहरूलाई निरन्तरता दिने सोच राखेका छन्। तर, प्रतिनिधिसभामा बलियो उपस्थिति भए पनि राष्ट्रिय सभामा रास्वपाको सांसद छैनन्। संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले अन्य दलको साथ अनिवार्य हुन्छ। यसले जोखिम बढाएको छ।

पाण्डेले थपे, ‘संविधान संशोधन सजिलो छैन। राष्ट्रिय सभाको अंकगणित र अन्य दलको सहयोगबिना यो सम्भव नहुन सक्छ।’ पार्टीको चुनावी वाचापत्रमा पनि संघीय मन्त्रालयको संख्या १८ मा सीमित गरी विज्ञ मन्त्री र विशेषज्ञतामा आधारित प्रशासन स्थापना गर्ने उल्लेख छ।

रास्वपाका नेता शिशिर खनालले भने, ‘तत्काल विज्ञ मन्त्री बनाउन संविधानले मिल्दैन। ६ महिना बनाएपछि के गर्ने ?’ यदि संशोधन सम्भव नभए सांसदमध्येका विभिन्न क्षेत्रका विज्ञहरूलाई मन्त्री बनाउने विकल्प पनि छलफलमा छ। पार्टीभित्र प्रधानमन्त्रीले नै मन्त्री छनोट गर्ने, पार्टी हस्तक्षेप नगर्ने बहस चलेको छ। सांसद सस्मित पोखरेल, गणेश कार्की लगायतले बालेनलाई पूर्ण जिम्मेवारी दिनुपर्ने बताएका छन्।

सरकार गठन प्रक्रिया अघि बढिसकेको छैन। पार्टी सभापति रवि लामिछाने स्वास्थ्य समस्या कारण आराम गरिरहेका छन्। बालेनले सांसदहरूसँग भेटघाट जारी राखेका छन्। रवि र बालेनबीच छलफलपछि यो विषय टुंगिने नेताहरूको भनाइ छ। शक्तिशाली प्रधानमन्त्री बन्ने अवसरले बालेन र रास्वपालाई ठूलो दबाब पनि दिएको छ। यो निर्वाचनले नेपालको राजनीतिमा नयाँ युगको सुरुवात गरेको छ।