८२ क्षेत्रमा उपविजेता सहित प्रतिनिधिसभामा कांग्रेस दोस्रो स्थानमा

८२ क्षेत्रमा उपविजेता सहित प्रतिनिधिसभामा कांग्रेस दोस्रो स्थानमा


काठमाडौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२५ सिट जित्दै स्पष्ट पहिलो दल बनेको छ । यो जितले नेपालको राजनीतिमा नयाँ युगको सुरुवात गरेको विश्लेषकहरूले बताएका छन् ।
दोस्रो ठूलो दल नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने उपविजेताको सूचीमा भने नेपाली कांग्रेसले सबैभन्दा बढी प्रभाव देखाएको छ । आयोगको तथ्यांकअनुसार कांग्रेस देशभरका १६५ क्षेत्रमध्ये ८२ स्थानमा दोस्रो ९उपविजेता० बनेको छ । यो संख्या अन्य दलको भन्दा निकै बढी हो । नेकपा (एमाले) ४१ क्षेत्रमा, नेकपा १८ क्षेत्रमा दोस्रो भएको छ । रास्वपा र जनता समाजवादी पार्टी (जसपा) नेपालले समान ६–६ क्षेत्रमा उपविजेता स्थान प्राप्त गरेका छन् । नयाँ दल श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेसँगै ४ क्षेत्रमा उपविजेता बन्दै पुराना दलहरूलाई चुनौती दिएको छ ।

यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टीले एक–एक क्षेत्रमा दोस्रो स्थान हासिल गरेका छन् । कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार उपविजेता बनेको छ भने धनुषा–१ को नतिजा केही समय अनिर्णित रहेको थियो ।