काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेई र अन्य उच्चपदस्थ इरानी अधिकारीबारे पहिचान वा जानकारी दिनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । फेब्रुअरी २८ मा इरानी सैन्य प्रतिष्ठानलक्षित अमेरिकी–इजरायली आक्रमण र त्यसको जवाफमा मध्यपूर्वभरि भएका मिसाइल तथा ड्रोन प्रत्याक्रमणपछि क्षेत्रीय शत्रुता बढेसँगै अमेरिकाले यस्तो निर्णय गरेको हो । यो प्रोत्साहन विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ पहलमार्फत सुरु गरिएको हो ।
यस कार्यक्रमले अमेरिकाविरुद्ध निर्देशित आतंकवादमा संलग्न भएको आशंका गरिएका व्यक्तिलाई फेला पार्न वा न्यायको कठघरामा ल्याउन मद्दत गर्ने जानकारीका लागि आर्थिक क्षतिपूर्ति प्रदान गर्दछ । खामेनेईका अतिरिक्त कार्यक्रमको अद्यावधिक सूचीमा इरानका गृहमन्त्री र गुप्तचर तथा सुरक्षामन्त्री पनि समावेश छन् । सामाजिक सञ्जालको एउटा अपडेटमा ‘रिवाड्र्स फर जस्टिस’ले भनेको छ, “यी इरानी आतंकवादी नेताहरूका बारेमा जानकारी छ रु हामीलाई सुझाव पठाउनुहोस् । यसले तपाईंलाई पुरस्कार र स्थानान्तरणका लागि योग्य बनाउन सक्छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी पश्चिम एसिया संकटको सामना गरिरहेको इरानी सरकार आत्मसमर्पण गर्ने अवस्थामा रहेको दाबी गरेका छन् । जी–७ राष्ट्रका अधिकारीलाई उद्धृत गर्दै ट्रम्पले बुधबार विश्व नेताहरूसँगको भर्चुअल शिखर सम्मेलनका क्रममा यी टिप्पणीहरू गरेको अमेरिकी पत्रिका ‘एक्सिओस’ ले उल्लेख गरेको छ ।
‘अपरेसन एपिक फ्युरी’का नतिजाबारे सात राष्ट्रको समूहको छलफलका क्रममा ट्रम्पले सहयोगीहरूलाई ‘सबैलाई धम्की दिइरहेको क्यान्सरबाट छुटकारा पाएको’ बताएका थिए । ट्रम्पले उनीहरूलाई सिध्याउन पाउनु आफ्नो लागि ठूलो आत्मसम्मान भएको टिप्पणीसमेत गरेका छन् । इरानविरुद्धको व्यापक सैन्य अभियानबारे चर्चा गर्दै राष्ट्रपतिले वासिंगटनले सैन्य माध्यमबाट इरानको ‘आतंकवादी शासन’ नष्ट गर्न अपरेसन सञ्चालन गरिरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया