वर्षायाममा पनि पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

वर्षायाममा पनि पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी


काभ्रेपलाञ्चोक, २ चैत । पटक–पटकको बाढीपहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्ग को स्थायी पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गका क्षतिग्रस्त सडकखण्डमा तीन स्थानबाट पुनर्निर्माण सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुर ले जनाएको छ। कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश का अनुसार जोखिमयुक्त स्थानहरूमा आउँदो वर्षाअघि नै आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरी राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। हाल भइरहेको कामको प्रगति हेर्दा दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न हुने अपेक्षा गरिएको उनले बताए।

उनका अनुसार काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेका तीन सडकखण्डमा हालसम्म करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको छ। विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षात्ले थप क्षति पुर्‍याएपछि गत मङ्सिरदेखि प्रक्रिया पूरा गरी स्थायी पुनर्निर्माण थालिएको हो।  क्षतिग्रस्त चार खण्डमध्ये बाँकी रहेको बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक खण्डको पुनर्निर्माण भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (JICA) ले गर्नेछ। उक्त सडक निर्माणका लागि यसै महिनाभित्र ठेक्का सम्झौता हुने जनाइएको छ।

राजमार्गका विभिन्न जोखिमयुक्त स्थानमा ‘आरसिसी’ पर्खाल निर्माण, चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउने, चारसयबेँसी र भकुण्डेबेँसीमा सुरक्षा संरचना निर्माण गर्ने काम भइरहेको छ। साथै डालाबेँसी–मङ्गलटार खण्ड र चारसयबेँसी–नार्के खण्डमा सडक चौडा बनाउने कार्य पनि जारी रहेको इन्जिनियर योगेशले जानकारी दिए। गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ भएको स्थानहरूमा पुनः क्षति नहुने गरी संरचना निर्माणको डिजाइन गरिएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा करिब ३० किलोमिटर सडक बाढीपहिरोबाट प्रभावित भएको थियो।

पुनर्निर्माणसँगै राजमार्गलाई स्तरोन्नति गरी दुई लेनको सडक बनाइने योजना छ। त्यसका लागि विद्यमान पुलसँगै थप पुल निर्माण गरी पुलहरूलाई पनि दुई लेनमा विस्तार गरिने बताइएको छ। पाँचवटा पुललाई दुई लेनमा स्तरोन्नति गर्ने योजना रहेको छ। डालाबेँसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले करिब एक अर्ब ४२ करोड रुपैयाँमा ठेक्का पाएको छ भने चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्म ११ दशमलव ०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड रुपैयाँमा जिम्मा दिइएको छ। नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किलोमिटर सडक निर्माणका लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग करिब ६१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ।

कुल २९ दशमलव पाँच किलोमिटर क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि करिब आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ। जसमध्ये काभ्रेपलाञ्चोकका तीन सडकखण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीको एक खण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ।जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट सुरु भएको धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो बीपी राजमार्ग निर्माण कार्य २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।