काठमाडौ । नेपाली कांग्रेस का सभापति गगन थापा ले राजीनामा दिएपछि पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ। बैठकमा उपसभापति वििश्वप्रकाश शर्माले राजिनामाको जानकारी संगै अस्विकृत गर्ने प्रस्ताव संगै पेश गर्ने भएका छन् । शर्माले आफु निकट पदाधिकारी र केन्द्रिय सदस्यलाई यो जानकारी दिएको एक केन्द्रिय सदस्ययले बताए ।
प्रतिनिधिसभा चुनाव २०८२ मा पार्टीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकी ३८ सिटमा सीमित भएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्। यद्यपि, पार्टीभित्रका अधिकांश पदाधिकारी र स्थानीय तहका समितिहरूले थापालाई राजीनामा नदिन आग्रह गर्दै आएका थिए। यही पृष्ठभूमिमा बस्न लागेको केन्द्रीय समिति बैठकमा थापाको राजीनामा औपचारिक एजेन्डाका रूपमा प्रस्तुत भई व्यापक छलफल हुने बताइएको छ।
पार्टी प्रवक्ता देवराज चालिसे का अनुसार बैठकमा चुनावी समीक्षा पनि सँगसँगै गरिनेछ। “चुनावको समीक्षा हुन्छ, सभापतिको राजीनामाको विषयमा पनि बृहत् छलफल हुन्छ। सबैको धारणा सुनेर त्यसैका आधारमा निर्णय लिइनेछ,” उनले बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले ‘नैतिक जिम्मेवारी लिनु सकारात्मक भए पनि अहिलेको मुख्य दायित्व पार्टीलाई सम्हाल्नु हो’ भन्दै राजीनामा अस्वीकार गर्ने प्रस्ताव ल्याइने जानकारी दिएका छन्।
बैठकको सभापतित्वसमेत गर्ने शर्माले सबै केन्द्रीय सदस्यलाई खुला रूपमा बहस गर्ने अवसर दिइने बताएका छन्। त्यस्तै, उपसभापति पुष्पा भुसाल ले पनि सबै सदस्यको धारणा संकलन गरी निष्कर्षमा पुगिने बताएकी छन्।
महामन्त्री गुरुराज घिमिरे ले भने चुनावी परिणामलाई वर्तमान नेतृत्वसँग मात्र जोड्न नमिल्ने बताएका छन्। उनका अनुसार दीर्घकालीन रूपमा पार्टी सञ्चालन र शासनप्रणालीसँग सम्बन्धित प्रश्नहरूको समाधान हुन नसक्दा यस्तो परिणाम आएको हो। “अहिले सभापतिले राजीनामा दिएर जिम्मेवारीबाट अलग हुने अवस्था सान्दर्भिक छैन,” उनले भने।
यसैबीच, नेता प्रकाशशरण महत ले एक व्यक्तिको राजीनामाले मात्र समस्या समाधान नहुने जिकिर गरेका छन्। उनले सबै पक्षको सहभागितासहित नियमित महाधिवेशनमार्फत साझा समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
राजीनामापत्रमा थापाले आफू पदबाट अलग भए पनि पार्टी सुधार र पुनर्निर्माणको अभियानबाट अलग नहुने उल्लेख गरेका छन्। उनले देशभरका कार्यकर्ता र नागरिकसँग संवाद गर्दै पार्टीलाई सुदृढ बनाउने अभियानमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको राजीनामा अस्वीकृत गर्दै उनलाई पुनः पदमै निरन्तरता दिने सम्भावना केन्द्रीय समिति बैठकबाट देखिएको छ।

प्रतिक्रिया