काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरमा नियमित स्वास्थ्य उपचार पूरा गरेपछि थप उपचार तथा पारिवारिक कार्यक्रमका लागि हङकङ पुगेका छन् ।
सिंगापुरबाट हङकङ पुगेको जानकारी प्राप्त भएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा देउवा दम्पती हङकङको स्ट्यान्ली क्षेत्रमा घुमिरहेको देखिएको छ । उनीहरू केही समयपछि हङकङबाट स्वदेश फर्किने तयारीमा रहेको निकट स्रोतहरूले जनाएका छन् ।यसअघि जेन-जी आन्दोलनका क्रममा भदौ २३–२४ गते प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा आक्रमण गर्दा देउवा दम्पती गम्भीर घाइते भएका थिए । आक्रमणबाट घाँटी तथा अन्य भागमा गहिरो चोट लागेपछि उनीहरू नेपालमै केही समय उपचार गराएका थिए ।
त्यसपछि थप उपचारका लागि कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए । सिंगापुरबाट फर्किएपछि पनि स्वास्थ्य अवस्था सुधार नभएको तथा नियमित चेकअपका लागि फागुन १४ गते (निर्वाचनको ठीक एक साता अगाडि) पुनः सिंगापुर गएका थिए । यसबीचमा विशेष महाधिवेशनमा युवा नेताहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले दबाब दिएपछि देउवालाई सभापतिबाट हटाइएको थियो । उनी यसपटक निर्वाचनमा पनि उम्मेदवार बनेनन् ।
देउवा दम्पतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनीहरू चाँडै नेपाल फर्किने अपेक्षा गरिएको छ । यसले राजनीतिक वृत्तमा पनि चासो बढाएको छ ।

प्रतिक्रिया