बोगोटा । कोलम्बियाको दक्षिणी अमेजन क्षेत्रमा पर्ने पुटुमायो प्रान्तमा सोमबार एउटा सैन्य विमान उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। १२१ देखि १२५ जना सवार रहेको भनिएको उक्त विमान दुर्घटनामा ७० जनाभन्दा बढी घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
लकहिड मार्टिन (Lockheed Martin) द्वारा निर्मित हर्कुलस C-130 मोडेलको उक्त विमान पुएर्टो लेगुइजामो विमानस्थलबाट उडेको करिब १.५ देखि २ किलोमिटरको दूरीमै जमिनमा बजारिएको थियो। सुरुमा वायुसेनाले विमानमा ११० सैनिक र ११ चालक दलका सदस्य गरी १२१ जना रहेको बताए पनि स्थानीय अधिकारीहरूले १२५ जनासम्म सवार रहेको उल्लेख गरेका छन्।रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार विमान खसेपछि विमानमा रहेका सैन्य गोलाबारुदहरू विस्फोट भएर आगलागी भएको थियो । जसका कारण उद्धार कार्यमा निकै चुनौती थपिएको थियो।
पुटुमायोका गभर्नर जोन गेब्रियल मोलिनाका अनुसार अहिलेसम्म ३४ जनाको शव निकालिएको छ भने ७० जना घाइते भएका छन्। अझै २१ जना बेपत्ता रहेको आशंका गरिएको छ। घाइतेहरूको उपचारका लागि राजधानी बोगोटा र अन्य क्षेत्रबाट शय्यासहितका दुईवटा विशेष विमान घटनास्थल पठाइसकिएको छ। अहिलेसम्म ३४ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको र यो संख्या अझै बढ्न सक्ने पुएर्टो लेगुइजामोका मेयर लुइस एमिलियो बुस्टोसले बताए । वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको बताएका छन्। यद्यपि, प्रारम्भिक रूपमा कुनै ‘अवैध समूह’ को आक्रमणको संकेत भने नदेखिएको बताइएको छ ।
राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य विमानहरूको आधुनिकीकरणमा भइरहेको प्रशासनिक ढिलाइप्रति कडा आपत्ति जनाएका छन्। उनले भने, ‘हाम्रा युवाहरूको जीवन दाउमा छ, अब म कुनै पनि बहानामा ढिलाइ सहने छैन।’ दुर्घटनाग्रस्त विमान सन् २०२० मा अमेरिकाले अनुदानमा दिएको पुरानो (Surplus) विमान थियो। अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सीका अनुसार यो विमानले आफ्नो सुरुवाती मूल्यको ६० प्रतिशत मूल्य गुमाइसकेको थियो। कोलम्बियाले सन् १९६० को दशकदेखि नै हर्कुलस विमानहरू प्रयोग गर्दै आएको छ। गत फेब्रुअरीमा बोलिभियामा पनि यस्तै प्रकृतिको हर्कुलस विमान दुर्घटना भएको थियो, जसमा २० जनाभन्दा बढीको मृत्यु भएको थियो। कोलम्बियामा जारी आन्तरिक द्वन्द्वका कारण दुर्गम क्षेत्रमा सैनिक परिचालन गर्न यस्ता विमानहरूको प्रयोग अनिवार्य मानिन्छ।

प्रतिक्रिया