चितवन । चितवनका दुग्ध उत्पादक किसानले गत ६ महिनादेखिको दुध बिक्रीको भुक्तानी पाउन सकेका छैनन् ।जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । जिल्लामा उत्पादित दुधको भुक्तानी नहुँदा ४० हजार किसान समस्यामा परेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिक महिनादेखिको दुधको भुक्तानी अझै बाँकी छ । “दुग्ध विकास संस्थानले ६ महिनादेखि र अन्य ठूला दूध उद्योगले तीन महिनादेखिको भुक्तानी दिएका छैनन्,” उनले भने ।
बजारमा दुधको माग राम्रो भए पनि ठूला उद्योग र संस्थानले भुक्तानी नदिँदा किसानहरू आर्थिक संकटमा परेको अध्यक्ष वगालेले बताए । साना उद्योगले भने नियमित भुक्तानी गरिरहेको उनको भनाइ छ ।
चितवनमा हाल दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन भइरहेको छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी दुध जिल्लाबाहिरका ठूला उद्योग र संस्थानमा बिक्री हुने गरेको छ । जिल्लाका ११५ वटा दुग्ध उत्पादक सहकारी संघले दैनिक दुध संकलन गरी ठूला उद्योगलाई आपूर्ति गर्दै आएका छन् ।
समयमा भुक्तानी नपाउँदा सहकारीहरूले पनि किसानलाई दुधको पैसा दिन सकेका छैनन् । यसले गर्दा दूध उत्पादनमा संलग्न ४० हजार किसानको दैनिक जीवन प्रभावित भएको छ ।
किसानहरूले तत्काल भुक्तानी निकासा गर्न दुग्ध विकास संस्थान र ठूला दूध उद्योगलाई दबाब दिइरहेका छन् । तर अहिलेसम्म कुनै ठोस समाधान ननिस्किँदा उनीहरू चिन्तित छन् ।

प्रतिक्रिया