फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले भोगेको अनपेक्षित पराजयलाई पार्टीले बहुआयामिक कारणसँग जोड्दै विस्तृत समीक्षा गरेको छ। पार्टीका प्रदेश, जिल्ला तथा क्षेत्रीय तहका नेताहरूले मतदाताको ‘स्विङ’, नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षण, प्रतिकूल राजनीतिक वातावरण तथा पार्टी सञ्चालनमा देखिएका कमजोरीलाई हारका प्रमुख कारणका रूपमा औंल्याएका छन्।
कांग्रेस गण्डकी प्रदेश कार्यसमितिकी उपसभापति कल्पना तिवारीका अनुसार नेकपा (एमाले)ले आफ्नो परम्परागत मत सुरक्षित राख्न नसक्दा त्यसको असर कांग्रेसमा समेत परेको देखिएको छ। विशेषगरी स्याङ्जा क्षेत्र नम्बर–२ मा जित्ने विश्वास हुँदाहुँदै पनि मतदाताको मत नयाँ दलतर्फ सरेपछि परिणाम प्रतिकूल बनेको उनले बताइन्। उनका अनुसार पार्टीको आधारभूत मत सुरक्षित भए पनि उम्मेदवारले व्यक्तिगत मत आकर्षित गर्न नसक्नु अर्को कमजोरीका रूपमा देखिएको छ।
जिल्ला सभापति राजु थापाले निर्वाचन प्रतिकूल राजनीतिक वातावरणमा सम्पन्न भएको निष्कर्ष सार्वजनिक गरेका छन्। उनले भदौ २३ र २८ गतेका घटनापछि पुराना दलप्रति नकारात्मक धारणा बलियो बनेको र त्यसको प्रत्यक्ष असर कांग्रेसमा परेको उल्लेख गरे। साथै, बाह्य प्रभाव तथा राज्यशक्ति पुराना दलविरुद्ध प्रयोग भएको अनुभूति पार्टीले गरेको उनको भनाइ छ। यद्यपि पार्टीभित्र ठूलो स्तरको अन्तरघात भएको स्पष्ट प्रमाण भने नदेखिएको उनले स्वीकार गरे।
जिल्ला उपसभापति केदार काप्लेका अनुसार स्याङ्जामा संगठनात्मक रूपमा एकता कायम रहे पनि जनतामा बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनाले चुनावी परिणाम प्रभावित गरेको देखिएको छ। बेरोजगारी, भ्रष्टाचार र नेतृत्व हस्तान्तरणमा देखिएको ढिलाइले पुराना दलप्रति विश्वास कमजोर बनेको उनको विश्लेषण छ। यसपटक मतदाताले विचारभन्दा विकल्प खोज्ने प्रवृत्ति देखाएको र त्यसको लाभ नयाँ शक्तिले उठाएको उनले बताए।
त्यसैगरी क्षेत्रीय तहका नेताहरूले सानो मतान्तर र मत विभाजनले पनि कांग्रेसको हारमा भूमिका खेलेको निष्कर्ष निकालेका छन्। करिब दुईदेखि चार हजारको मतान्तर र केही मत नयाँ दलतर्फ जानुले परिणाममा निर्णायक असर परेको देखिएको छ। साथै एमाले–कांग्रेसबीच मत विभाजन हुनु र स्थानीय तहका समीकरणले पनि परिणाम प्रभावित भएको उल्लेख गरिएको छ।
उम्मेदवार भरतराज ढकालले पार्टी सञ्चालन तथा सन्देश प्रवाह प्रभावकारी हुन नसक्नु, आर्थिक व्यवस्थापनमा अनावश्यक खर्च हुनु तथा नयाँ मतदातालाई लक्षित रणनीति कमजोर रहनु हारका मुख्य कारण रहेको स्वीकार गरेका छन्।समग्र रूपमा स्याङ्जाको परिणामले पुराना दलप्रति बढ्दो असन्तुष्टि, नयाँ शक्तिको उदय र संगठनात्मक सुधारको आवश्यकता स्पष्ट रूपमा देखाएको विश्लेषण गरिएको छ। कांग्रेस नेताहरूले अब सङ्गठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष संवाद वृद्धि तथा नीतिगत मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आगामी निर्वाचनका लागि रणनीति सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया