मकवानपुर । कान्तिलोकपथ सडकखण्डको खतरनाक घुम्तीमा भएको ट्रक दुर्घटनामा एक युवाको ज्यान गएको छ भने ट्रक चालक गम्भीर घाइते भएका छन्।दुर्घटना बिहान गएराति साढे दुई बजे भएको हो। हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएपछि करिब १५० मिटर तल खोल्सामा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, दुर्घटनामा पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ। उनलाई घटनास्थलबाट उद्धार गरी हेटौँडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
ट्रक चालक सोही स्थानका ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ। ट्रक वीरगञ्जबाट काठमाडौँतर्फ सामान बोकेर जाँदै थियो। दुर्घटनापछि अस्थायी प्रहरी पोष्ट जितपुर भञ्ज्याङको प्रहरी टोली र नेपाली सेनाको लेनडाँडा सुरक्षा बेसको टोलीले घाइते तथा शवको उद्धार गरेको थियो।
ट्रकले ठक्कर दिँदा स्थानीय ओमान सिंह तितुङको घरमा सामान्य क्षति पुगे पनि घरमा कोही नबसेकाले थप मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ। सडकको घुम्ती, गति र थकानका कारण यस्ता दुर्घटना बढ्दै गएको स्थानीय बताउँछन्। दुर्घटनामा ज्यान गुमाउने सन्तोष यादवप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइते कृष्ण यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

प्रतिक्रिया