काठमाडौ । सशस्त्र प्रहरी बलको भावी संगठन प्रमुख (आईजीपी) का लागि प्रतिस्पर्धा सुरु भएको छ। हालका आईजीपी राजु अर्याल वैशाख १८ गते चार वर्षे कार्यकाल पूरा गरी अवकाशमा जान लागेपछि नयाँ आईजीपीको दौड तीव्र बनेको हो।
अर्याल २०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा भर्ना भएका थिए। उनी सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएर २०७९ वैशाख १९ देखि आईजीपीको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको ३० वर्षे सेवा अवधि दुई वर्ष बाँकी छँदा नै अवकाश हुन लागेको छ।
अर्यालपछि नयाँ आईजीपीको दौडमा एआईजी नारायणदत्त पौडेल सबैभन्दा अगाडि देखिएका छन्। उनी अर्याल आईजीपी हुँदाका बेला पनि मुख्य प्रतिस्पर्धी थिए। पौडेल २०७९ जेठ ६ मा एआईजी बढुवा भएका थिए। वरिष्ठताका आधारमा दोस्रो स्थानमा एआईजी वंशीराज दाहाल छन्। दाहाल २०७९ असोज २८ मा एआईजी भएका थिए। तेस्रो स्थानमा रहेका एआईजी गणेश थापा मगरको दौड भने औपचारिक मात्र मानिएको छ किनकि उनी पौडेल र दाहालभन्दा जुनियर ब्याचका हुन्।
सशस्त्र प्रहरी बलमा हालसम्म आईजीपी नियुक्तिमा वरिष्ठतालाई मुख्य आधार बनाइँदै आएको छ। नियमावलीअनुसार पनि ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता, आर्थिक अनुशासन र व्यवस्थापकीय क्षमताका आधारमा आईजीपी छनोट गर्नुपर्ने उल्लेख छ। नयाँ आईजीपीको कार्यकाल भने मात्र दुई वर्षको हुनेछ। ३० वर्षे सेवा अवधिका कारण उनी पनि छोटो समयमै अवकाशमा जानेछन्।

प्रतिक्रिया