ओली त्रिवि शिक्षण अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली त्रिवि शिक्षण अस्पतालको ५०१ नम्बर बेडमा भर्ना


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।  दुई पटक मृगौला प्रत्यारोपण गरिसकेका ओलीको ‘मल्टिपल हेल्थ इस्यु’ का कारण जोखिम बढ्न सक्ने भन्दै अस्पतालको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । यसअघि पनि मृगौला प्रत्यारोपणपछि उनी सोही बेडमा भर्ना भएर उपचार गराएका थिए ।

अस्पताल स्रोतका अनुसार प्रारम्भिक रिपोर्टमा ओलीलाई चेस्ट पेन (छाती दुखाइ) र पाल्पिटेशन (मुटुको धड्कन अनियमित) देखिएको छ । उनलाई ईसीजी मनिटर जोडेर मुटुको चालको निरन्तर अनुगमन भइरहेको छ । मृगौला सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले पनि उनको स्वास्थ्य स्थिति नियमित अनुगमन गरिरहेका छन् ।

ओलीलाई हालै गिरफ्तार गरिएको थियो । प्रहरीले आज शनिबार परेकाले अदालतमा म्याद थपका लागि आइतबार मात्रै लैजाने तयारी गरेको थियो । त्यसअघि उनलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राख्ने योजना थियो । तर स्वास्थ्य समस्या देखिएपछि प्रहरीले तत्काल त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको हो । अस्पताल स्रोतले ओलीको स्वास्थ्य अवस्था स्थिर रहे पनि ‘मल्टिपल हेल्थ इस्यु’ ले थप जोखिम निम्त्याउन सक्ने बताएको छ । चिकित्सकहरूले उनको स्वास्थ्यमा थप सुधारका लागि आवश्यक परीक्षण र उपचार जारी राखेका छन् ।

ओलीको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी अस्पताल प्रशासनले आइतबार दिन सक्ने सम्भावना छ । उनका समर्थक तथा पार्टी कार्यकर्ताहरूले चाँडो स्वास्थ्य लाभको कामना गरेका छन् ।