काठमाडौ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि देशभरका सबै प्रहरी एकाइहरूलाई ‘उच्च सतर्कतामा’ राखिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले बिकासटाइम्स डटकमलाई बताएअनुसार, पक्राउपछिको सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । उनले भने, ‘कानुन पालना गर्नु, शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरामा नागरिक तथा पार्टी सबैको कर्तव्य हुन्छ । त्यसैले यस कानुनी प्रक्रियालाई सबैले सम्मान गर्नुपर्छ ।’
शनिबार बिहानै भक्तपुरको गुन्डुबाट ओली र कटुन्जेबाट लेखकलाई पक्राउ गरिएको थियो । प्रहरीले दुवैलाई काठमाडौं जिल्ला प्रहरी परिसर लगेको छ । ओलीको स्वास्थ्य जाँचका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्याइएको छ भने लेखकलाई प्रहरी गणमा राखिएको छ ।
शुक्रबार बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग (कार्की आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलका अनुसार, सुरक्षा निकायका हकमा अध्ययन समिति गठन गरी सो समितिको सिफारिसअनुसार काम गर्ने र अन्यका हकमा आयोगका सिफारिस तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । प्रवक्ता काफ्लेले ओली र लेखकबाहेक अन्य व्यक्तिलाई पनि पक्राउ गरिँदै छ कि भन्ने प्रश्नमा भने, “अन्यको निर्णय हामीलाई प्राप्त भएको छैन,” भनेका छन् ।
कार्की आयोगले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ मा भएको घटनाको छानबिन गरी ओली, लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबर खापुङ लगायतलाई कारबाही गर्न सिफारिस गरेको थियो । सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले शनिबार बिहान पक्राउ अभियान सुरु गरेको हो । प्रहरीले शान्तिसुरक्षा कायम राख्न र कुनै पनि अशान्ति हुन नदिन सबै एकाइलाई उच्च सतर्कतामा राखेको जनाएको छ । प्रवक्ता काफ्लेले सबै पक्षलाई कानुनी प्रक्रियाको सम्मान गर्न आग्रह गरेका छन्

प्रतिक्रिया