एमालेका पूर्व सभासद मल्ल बलात्कार आरोपमा पक्राउ

एमालेका पूर्व सभासद मल्ल बलात्कार आरोपमा पक्राउ


काठमाडौ ।
नेकपा एमालेका पूर्व सभासद तथा पूर्व संविधानसभा सदस्य कर्णबहादुर मल्ल लाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मुगु जिल्लाको सोरु गाउँपालिका–१० स्थायी घर भएका ५२ वर्षीय मल्ल हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ मा बस्दै आएका थिए । उनलाई शनिबार ललितपुर महानगरपालिका–१५ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । ललितपुरका एसएसपी होबिन्द्र बोगटी ले दिएको जानकारी अनुसार, जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरेको हो । पीडित महिलाले फागुन ५ गते ललितपुर प्रहरीमा बलात्कारसम्बन्धी उजुरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले अनुसन्धान गर्दै मल्ललाई शनिबार पक्राउ गरेको हो । पीडित महिलाले केही समयअघि माइतीघर मण्डलामा अनशनसमेत बसेकी थिइन् । मल्ल नेकपा एमालेको कर्णाली प्रदेश समिति सदस्य पनि रहेका थिए । यसअघि उनी नेपाली कांग्रेसबाट पनि राजनीतिक सक्रियता देखाएका थिए । प्रहरीले मल्ललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा राखेको छ । आरोप प्रमाणित भएमा मात्र उनी दोषी ठहरिनेछन् ।