काठमाडौँ । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादबीच सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षधरले समानान्तर गतिविधि सुरु गरेका छन्।
पार्टीका कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई दिने कार्यक्रम आयोजना गरेका हुन्। उक्त कार्यक्रम आज दिउँसो १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजना गरिएको छ। प्रतिनिधि सभामा निर्वाचित सांसदहरूलाई औपचारिक रूपमा बधाई दिनका लागि कार्यक्रम तय गरिएको जनाइएको छ।
कार्यक्रममा देउवा पक्षका शीर्ष नेताहरू पनि सहभागी हुने तयारी रहेको स्रोतले जनाएको छ। यसलाई कांग्रेसभित्र देखिएको गुटगत सक्रियताको नयाँ संकेतका रूपमा समेत हेरिएको छ।
उता, यसअघि नै शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रशिक्षण कार्यक्रम आयोजना गरिसकेको थियो। सो कार्यक्रम पार्टीको आधिकारिक आयोजनाका रूपमा सम्पन्न भएको थियो।
हालै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ प्रकरणमा पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’ भन्दै विज्ञप्ति जारी गरेपछि कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको हो। त्यसयता पार्टीभित्र नेतृत्व र अधिकार प्रयोगसम्बन्धी विषयमा मतभेद बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया