खड्काद्वारा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक आह्वान

खड्काद्वारा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक आह्वान

मंगलबार र बुधबार दुई दिनसम्म धुम्बाराहीस्थित एक होटलमा बैठक बस्ने


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणपछि ‘कार्यवाहक सभापति’को हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबारका लागि उक्त बैठक आह्वान गरेका हुन्।

सभापति शेरबहादुर देउवानिकट एक नेताले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिएका छन्। खड्कानिकट स्रोतले पनि मंगलबार र बुधबार दुई दिनसम्म धुम्बाराहीस्थित एक होटलमा बैठक बस्ने तयारी भएको पुष्टि गरेको छ।  १४औँ महाधिवेशनबाट निर्वाचित एक केन्द्रीय सदस्यका अनुसार आफूलाई पनि बैठकमा उपस्थित हुन खबर प्राप्त भइसकेको छ। बैठकमार्फत पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको विवादबारे छलफल हुने अपेक्षा गरिएको छ।

खड्काले केन्द्रीय कार्यसमिति बैठकपछि प्रदेश सभापति र जिल्ला सभापतिहरूको समेत भेला बोलाउने तयारी गरेका छन्। उनीनिकट स्रोतका अनुसार प्रदेश र जिल्ला तहका नेतृत्वसँग छलफल गरेर आगामी रणनीति तय गर्ने योजना बनाइएको छ।  यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूसँग ठमेलमा छलफल गरेका थिए। उक्त छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका थिए।

साथै, उनले आगामी दिनमा उत्पन्न हुन सक्ने राजनीतिक परिस्थितिको सामना गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तयार रहन अपिल गरेका थिए। यद्यपि, कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको थियो। पार्टी नेतृत्वले खड्काको उक्त कदमलाई संस्थागत निर्णयबाहिरको गतिविधि ठहर गर्दै उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल सुरु गरेको थियो।

पछिल्ला गतिविधिले कांग्रेसभित्र गुटगत सक्रियता तीव्र बन्दै गएको संकेत देखिएको छ भने खड्काले बोलाएको बैठकले पार्टीभित्रको शक्ति सन्तुलनमा थप प्रभाव पार्ने अनुमान गरिएको छ।