दुबई । संयुक्त अरब इमिरेट्सको व्यस्त दुबई बन्दरगाहमा मंगलबार बिहान कुवेतको ठूलो कच्चा तेल ट्यांकर ‘अल–सल्मी’ माथि ड्रोन आक्रमण भएको छ। आक्रमणबाट ट्यांकरमा आगो लागेको छ भने समुद्रमा तेल चुहावटको गम्भीर जोखिम उत्पन्न भएको छ।
कुवेत पेट्रोलियम कर्पोरेसनले आक्रमणलाई “आपराधिक कार्य” भन्दै कडा निन्दा गरेको छ। कम्पनीका अनुसार ट्यांकर पूर्ण रूपमा कच्चा तेलले भरिएको अवस्थामा अंकरेज क्षेत्रमा थियो। आक्रमणबाट जहाजको हलमा क्षति पुगेको छ। भिडियो फुटेजमा ट्यांकरमा आगोको लप्का देखिएको छ। यद्यपि, अहिलेसम्म कुनै मानवीय क्षति भएको पुष्टि भएको छैन।
दुबई मिडिया अफिसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुबईका अधिकारीहरूले तत्काल प्रतिक्रिया जनाएका छन्। अग्निनियन्त्रक टोलीहरूले आगो नियन्त्रण गर्न प्रयास गरिरहेका छन्।” बेलायती युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेसन्सले पनि घटनाको पुष्टि गर्दै ट्यांकर दुबईबाट करिब ५७ किलोमिटर उत्तर–पश्चिममा रहेको बेला आक्रमण भएको जनाएको छ। यो घटना गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि खाडी क्षेत्र र स्ट्रेट अफ होर्मुजमा भएका निरन्तर जहाज आक्रमणहरूको पछिल्लो श्रृंखला हो। इरानी ड्रोनबाट भएको आक्रमणले क्षेत्रीय सुरक्षा स्थिति थप जटिल बनेको छ।
तेल बजारमा ठूलो प्रभाव
आक्रमणको खबरसँगै अन्तर्राष्ट्रिय तेल बजारमा उछाल आएको छ। ब्लूमबर्गका अनुसार अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट ९ध्त्क्ष्० को मूल्य ३।४ प्रतिशतले बढेर प्रति ब्यारेल १०६ डलर नाघेको छ। यो सन् २०२२ यताकै सबैभन्दा उच्च मूल्य हो। सोमबार मात्रै यो सूचक १०० डलर माथि पुगेको थियो।
विश्लेषकहरूका अनुसार यदि तेल चुहावट भएमा वा खाडी क्षेत्रमा तनाव बढेमा तेल आपूर्तिमा अवरोध आउन सक्ने र मूल्य अझ बढ्न सक्ने सम्भावना छ।
कुवेती अधिकारीहरूले समुद्री सुरक्षा र वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न आह्वान गरेका छन्। दुबईका अधिकारीहरूले आगो नियन्त्रण र क्षति मूल्यांकनमा जोड दिएका छन्।
यो घटनाले विश्वव्यापी ऊर्जा सुरक्षा र समुद्री मार्गको स्थिरतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया