काठमाडौ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले केही मुख्य सर्त पूरा भएमा अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्न आफ्नो देश तयार रहेको बताएका छन्। युरोपेली परिषद्का अध्यक्षसँगको फोन वार्तामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। इरानको सरकारी सञ्चारमाध्यमले यो समाचार प्रसारित गरेको छ।
राष्ट्रपति पेजेस्कियानले युद्ध रोक्ने इच्छा व्यक्त गर्दै भनेका छन्, “युद्ध अन्त्य गर्न हामी तयार छौं, तर भविष्यमा यस्तो द्वन्द्व फेरि नदोहोरियोस् भन्ने ग्यारेन्टी चाहिन्छ।” उनले इरानको सुरक्षा, राष्ट्रिय हित र गरिमा संरक्षणलाई मुख्य प्राथमिकता दिएका छन्। यसअघि पनि इरानले अमेरिकाको १५(बुँदे शान्ति प्रस्तावको जवाफमा आक्रमण नदोहोरिने दृढ ग्यारेन्टी मागेको थियो। यसैबीच, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुई वा तीन हप्ताभित्र’ आफ्नो देश इरानविरुद्धको युद्धबाट बाहिरिने संकेत दिएका छन्। बीबीसीका अनुसार ट्रम्पले भनेका छन्, “मेरो एउटै लक्ष्य थियो— इरानले कुनै हालतमा पनि आणविक हतियार हासिल गर्न नसकोस्। त्यो लक्ष्य प्राप्त भइसकेको छ।”
ट्रम्पले थप भने, “हामी इरानमा हाम्रो कामलाई अन्तिम रूप दिइरहेका छौं। सायद दुई हप्ताभित्र वा केही दिन बढी लाग्न सक्छ, त्यसपछि अमेरिका इरानबाट बाहिरिनेछ।” उनले इरानका सबै कुरा ध्वस्त पार्न चाहेको उल्लेख गर्दै यसअघि नै सम्झौता हुन सक्ने सम्भावना पनि व्यक्त गरे। ग्यासको मूल्य बढेको विषयमा पत्रकारले सोध्दा ट्रम्पले जवाफ दिए, “यसका लागि हामी इरानबाट बाहिर निस्कनु हो र हामी त्यो चाँडै गर्नेछौं।”
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेपछि यो युद्ध सुरु भएको थियो। बदलामा इरानले इजरायल र खाडी क्षेत्रका अमेरिकी आधारमा आक्रमण गरेको थियो। एक महिनाभन्दा बढी समयदेखि मध्यपूर्व द्वन्द्वग्रस्त बनेको छ। यस युद्धमा अहिलेसम्म कुल ४ हजार ५०० भन्दा बढी मानिस मारिएका छन्, जसमध्ये सबैभन्दा बढी इरानी नागरिक छन्।
कहाँ कति मारिए
इरान : अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान ९ज्च्ब्ल्ब्० अनुसार युद्ध सुरु भएदेखि इरानमा ३ हजार ४९२ जना मारिएका छन्। जसमध्ये १ हजार ५७४ जना सर्वसाधारण नागरिक र कम्तीमा २३६ जना बालबालिका छन्।
इजरायल : इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोमका अनुसार मिसाइल आक्रमणमा १९ जना मारिएका छन्। साथै लेबननमा ९ जना इजरायली सैनिक मारिएको इजरायली सेनाले जनाएको छ।
लेबनन : लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि अहिलेसम्म १ हजार २४७ जना मारिएका छन्, जसमध्ये १२४ जना बालबालिका छन्।
खाडी क्षेत्र :खाडी देशहरूमा कम्तीमा २४ जना मारिएका छन्। जसमध्ये धेरैजसो सुरक्षा बलका सदस्य वा विदेशी कामदार छन्। यूएईमा ११ जना, कुवेतमा ७ जना, ओमान, साउदी अरेबिया र बहराइनमा दुई(दुई जना मारिएको पुष्टि भएको छ।
यो युद्धले मध्यपूर्वको शान्ति प्रक्रियालाई ठूलो चुनौती दिएको छ। दुवै पक्षले शान्ति वार्ताको सम्भावना देखाए पनि सर्तहरूमा ठूलो अन्तर छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम र मानवीय सहायताको माग गरिरहेको छ। इरानले क्षेत्रीय सुरक्षा संरचना बिना विदेशी हस्तक्षेप रोक्नुपर्ने जोड दिएको छ भने अमेरिकाले आणविक खतरा पूर्ण रूपमा समाप्त भएको दाबी गरेको छ।

प्रतिक्रिया