बगदादमा अमेरिकी महिला पत्रकार शैली किटलसन अपहरणमा

बगदादमा अमेरिकी महिला पत्रकार शैली किटलसन अपहरणमा


काठमाडौँ । इराकको राजधानी बगदादमा एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन् । अमेरिकी फ्रीलान्स पत्रकार (Shelly Kittleson) मंगलबार साँझ बगदादको सादुन स्ट्रीट क्षेत्रबाट अपहरणमा परेको इराकी गृह मन्त्रालयले जनाएको छ । उनी मध्यपूर्वका विभिन्न युद्ध र द्वन्द्वबारे रिपोर्टिङ गर्ने अनुभवी पत्रकार हुन् र अल–मोनिटर लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा योगदान गरिरहेकी थिइन् ।

इराकी तथा अमेरिकी अधिकारीहरूले अपहरण इरान समर्थित मिलिसिया समूह (Kataib Hezbollah) सँग आबद्ध व्यक्तिहरूले गरेको आशंका व्यक्त गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार पक्राउ परेका एक संदिग्ध कताइब हिज्बुल्लाहसँग सम्बन्धित छन् । यो समूहले हालै अमेरिकी ठेगानाहरूमाथि आक्रमण गरिरहेको र महिला पत्रकारहरूलाई लक्षित गर्ने योजना बनाएको रिपोर्टहरू आएका छन् ।

इराकी गृह मन्त्रालयले अपहरणकारीको खोजीमा तीव्रता दिएको छ । अपहरणपछि सुरक्षाकर्मीले अपहरणकारीको गाडीको पछ्याइँ गरेका थिए । पछ्याइँको क्रममा एक गाडी बाबिल प्रान्तको अल–हास्वा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र एकजनालाई पक्राउ गरिएको बताइएको छ । तर, पत्रकारलाई अर्को गाडीमा राखेर अपहरणकारी फरार भएका छन् । शैली किटलसन रोममा बसोबास गर्ने अमेरिकी नागरिक हुन् । उनी इसिस (ISIS) लगायत मध्यपूर्वका विभिन्न सङ्कटपूर्ण क्षेत्रबाट रिपोर्टिङ गरिसकेकी छन् । उनको अपहरणको घटनाले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढाएको छ । अल–मोनिटरले उनको तत्काल र सुरक्षित रिहाइको माग गर्दै विज्ञप्ति जारी गरेको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (CPJ) ले पनि इराकी सरकारलाई पत्रकारको खोजी र सुरक्षित उद्धार गर्न आग्रह गरेको छ ।

यो घटना हालै इरान–अमेरिका–इजरायलबीच बढेको तनाव र इराकमा इरान समर्थित मिलिसियाको सक्रियतासँग जोडेर हेरिएको छ । अपहरणकारीको मुख्य उद्देश्य अझै स्पष्ट भइसकेको छैन । इराकी सुरक्षा बलले खोजी अभियान जारी राखेको र अमेरिकी दूतावासले पनि घटनाको नजिकबाट अनुगमन गरिरहेको बताइएको छ ।