काठामडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सहमति सम्भव रहेको बताएका छन्।
बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले सबै पक्षको आत्मसम्मान कायम राख्दै संवादबाट सहमतिमा पुग्नुपर्नेमा जोड दिए। उनले भने, “पार्टी एकताका लागि गगन थापा र विश्वप्रकाश शर्मासँग सहमति गर्न सकिन्छ, तर झुकेर होइन। दुवै पक्ष बसेर संवादबाट सहमतिमा पुग्नुपर्छ।”
कोइरालाले कांग्रेसलाई कमजोर पार्ने बाहिरी योजनाअन्तर्गत केही नेताहरू प्रयोग भइरहेको आरोप पनि लगाए। “कन्ट्रोल्ड डेमोक्रेसीको अभ्यास हुँदै छ। कांग्रेसलाई सक्काउने डिजाइन अनुसार नै सबै प्रयोग भएका छन्,” उनको भनाइ थियो।
यो अभिव्यक्ति निवर्तमान सभापति शेरबहादुर देउवा र डा शेखर कोइराला पक्षका नेताहरूको बैठकका क्रममा आएको हो। मंगलबार र बुधबार काठमाडौंको धुम्बाराहीमा बसेको उक्त बैठकमा पूर्वसंस्थापन पक्षका केन्द्रीय सदस्यहरूको सहभागिता थियो।
पार्टीभित्र हाल विशेष महाधिवेशनको माग, नेतृत्व परिवर्तन र आन्तरिक लोकतन्त्रको विषयलाई लिएर गगन थापा–विश्वप्रकाश शर्मा पक्ष र देउवा–कोइराला पक्षबीच तीव्र मतभेद बढेको छ। कोइरालाको यो भनाइले दुवै पक्षबीच संवादको सम्भावना जीवित राख्ने प्रयासका रूपमा हेरिएको छ।
नेता कोइरालाले पार्टी एकता कायम राख्न दुवै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। कांग्रेसको यो आन्तरिक द्वन्द्वले पार्टीको संगठनात्मक एकता र आगामी राजनीतिक भूमिकालाई प्रभावित पार्ने देखिन्छ।

प्रतिक्रिया