काठमाडौ । कुवेतस्थित नेपाली दूतावासले कानुनी उल्लंघन गरेका नेपालीहरूलाई डिपोर्ट गरी चार्टर जहाजमार्फत नेपाल फर्काएको छ। कुवेत एयरवेजको चार्टर उडान बुधबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। दूतावासका एक अधिकारीले बताएअनुसार, “कुवेतको कानुनी उल्लंघन गरेका नेपालीलाई डिपोर्ट गरेको हो। उनीहरू सबै डिपोर्टेशन सेन्टरमा थिए।”
कुवेतको अदालतले डिपोर्ट गर्न आदेश दिएपछि उनीहरूलाई विशेष चार्टर जहाजबाट पठाइएको हो। यो उडान मुख्य रूपमा डिपोर्ट भएका व्यक्तिहरूलाई स्वदेश फर्काउने उद्देश्यले सञ्चालन गरिएको थियो। कुवेतमा काम र बसोबासका क्रममा विभिन्न कानुनी कारबाहीमा परेका नेपालीहरू डिपोर्टेशन सेन्टरमा राखिएका थिए। दूतावासले उनीहरूको सहजीकरण गर्दै नेपाल फर्काउने व्यवस्था मिलाएको जनाएको छ। यो चार्टर उडानलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि पनि सकारात्मक मानिएको छ। डिपोर्ट भएका नेपालीहरूको संख्या र उनीहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
विदेशमा रहेका नेपाली कामदारहरूलाई स्थानीय कानुन पालना गर्नुपर्ने आवश्यकतातर्फ यो घटनाले ध्यानाकर्षण गरेको छ। कुवेतमा नेपाली कामदारको ठूलो संख्या छ र नियमित उडान प्रभावित हुँदा यस्ता विशेष व्यवस्था गर्नुपरेको हो।

प्रतिक्रिया