डा.शेखर कोइराला भन्छन्-यस्तो बेला कांग्रेस र एमाले आफैंभित्र लड्नु घातक छ

डा.शेखर कोइराला भन्छन्-यस्तो बेला कांग्रेस र एमाले आफैंभित्र लड्नु घातक छ


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन नेपाली माटोको अर्ग्यानिक विद्रोह नभएको दाबी गरेका छन् । स्वर्गीय कमल कोइरालाको प्रथम स्मृति कार्यक्रममा बोल्दै डा। कोइरालाले आफू सो घटनालाई अर्ग्यानिक मान्न तयार नरहेको र आन्दोलन तथा विद्रोह नभई बाह्य शक्तिको खेल भएको बताए ।

आफूसँग यो घटना अर्ग्यानिक होइन भन्ने प्रशस्त प्रमाणहरु रहेको दाबी समेत कोइरालाले गरे।कोइरालाले अबका दिन कांग्रेस र वामपन्थीहरुका लागि निकै चुनौतिपूर्ण र जोखिमयुक्त रहेको बताए । उनले यस्तो बेला कांग्रेस र एमाले पार्टीभित्र आफै आफैं विवाद र आरोप प्रत्यारोप चलेकोमा समेत उनले असन्तुष्टि जनाए। कोइरालाले भने, ‘अबका दिन कांग्रेस र कम्युनिस्टका लागि कठिन छन् । एमाले र कांग्रेस दुवै पार्टी विचित्रको अप्ठेरोमा विवादमा फसेका छन् भनेर स्वीकार गरौं ।
ती पार्टीहरुलाई मिलाएर अघि लैजान सकेनौं भने अवस्था के हुन्छ ? अबको ५ वर्षपछि भन्नुस वा स्थानीय निर्वाचन वा प्रदेशको निर्वाचन भन्नुस त्यो बेला अवस्था के हुन्छ ? यहि मन्चबाट म भन्छु कांग्रेस र एमाले एकढिक्का बनाएर लड्न सक्यौँ भने अस्तित्व रहन्छ होइन भने अप्ठेरो परिस्थितिमा जान्छौं, यसमा कुनै दुईमत छैन ।’