काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले प्रतिनिधिसभा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा रास्वपा सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल रहेका छन् ।
संघीय संसद् सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो । दिउँसो २ः३० बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित हुनेछ । चैत २२ गते (शनिबार)बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचन हुनेछ । बैठकमा प्रस्तावकले प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन गर्नेछन् । छलफलपछि निर्णय प्रक्रियामा जानेछ ।
रास्वपाले बिहीबार बसेको केन्द्रीय बैठकले डीपी अर्याललाई सभामुख पदमा अघि सार्ने निर्णय गरेको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेको छ । यो संख्या दुई तिहाइ बहुमत नजिकै भएकाले अर्याल सभामुखमा निर्वाचित हुने लगभग निश्चित छ । हाल सभामुख पद रिक्त रहेकोले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आएका छन् ।

प्रतिक्रिया