काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीको अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइललाई अवरोध गर्दा खसेको अवशेष लागेर ७ जना नेपाली नागरिक घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक जनाको अवस्था गम्भीर छ ।
आबुधाबी मिडिया अफिस र गल्फ न्युजका अनुसार घटनामा ५ जना भारतीय नागरिक पनि घाइते भएका छन् । घाइतेहरूको नाम सार्वजनिक भएको छैन ।
अज्बान क्षेत्र अल ऐनको उत्तरतर्फ र दुबई–अल ऐन सिमानाको नजिक पर्छ । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरूलाई सफलतापूर्वक रोकेको जनाएको छ । अवरोधका क्रममा खसेका अवशेषले अज्बानका विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
यसैगरी आबुधाबीको हब्सन ग्यास उद्योग क्षेत्रमा पनि अवशेष खस्दा आगलागी भएको स्थानीय स्रोतले बताएका छन् ।
घटनापछि
– आपतकालीन उद्धार टोली तत्काल परिचालन गरियो
– प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारियो
– घाइतेहरूलाई तत्काल अस्पताल लगिएको छ
यूएईमा हालसम्म यस्ता घटनाहरूमा नेपाली कामदारहरू बढी प्रभावित हुने गरेका छन् । यो घटनाले विदेशमा कार्यरत नेपालीहरूको सुरक्षा र जोखिम न्यूनीकरणबारे पुनः बहस सुरु गरेको छ ।

प्रतिक्रिया