दाङ । राप्ती गाउँपालिका-२ बाह्रखुट्टीका १७ वर्षीय स्मिथ प्रधानको बिहीबार राति निर्घात हत्या भएको छ । उनको शव शुक्रबार मध्याह्न राप्ती गाउँपालिका-४ दोलाइ खोलाको सुक्खा नालामा टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेको छ । घटनामा स्मिथका साथी राप्ती-१ पाखापानीका १६ वर्षीय आयुषमान थापा मगर घाइते भएका छन् । उनलाई राप्ती आधारभूत अस्पताल सिसहनियाँबाट थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।
प्रहरीले तीन जनालाई पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिकाका १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढा रहेका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार, आकृति बुढाले ‘देबीसरा गाहा’ र ‘स्वस्तिका राना मगर’ नामका फेक फेसबुक मेसेंजर आईडीबाट आयुषमानलाई भेट्न बोलाएकी थिइन् । बिहीबार साँझ ८ बजेतिर स्मिथ र आयुषमान घरबाट निस्किएका थिए । बोलाएको ठाउँमा पुगेपछि आकृतिले दुवैलाई एकान्त ठाउँमा लगिन् र स्मिथलाई मात्रै अझ पर लगेर सन्दीप र निश्चल भएको ठाउँमा पुर्याइन् । त्यहाँ पुग्नासाथ स्मिथको दुवै हात बाँधेर, मुखमा कपडा कोचेर बोल्न नदिई चक्कुले छाती र अनुहारमा पटक-पटक आक्रमण गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या गरेपछि शवलाई घिसारेर नालामा फालेको खुलेको छ । पछि आयुषमानमाथि पनि कुटपिट गरिएको थियो । आयुषमान जसोतसो भागेर शुक्रबार बिहान ३ बजेतिर आफ्नो दिदीको साथीको घर पुगेका थिए ।
प्रेम सम्बन्ध र बदलाको भावनाबाट घटना जिल्ला प्रहरीका अनुसार आकृति बुढा र स्मिथ प्रधान कक्षा ८ देखि १० सम्म सँगै पढेका थिए । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीले भनेका छन्, “कलिलै उमेरको प्रेम सम्बन्ध र बदलाको भावनाका कारण यो घटना भएको देखिन्छ । थप अनुसन्धान भइरहेको छ ।” तीनै जनाले घटना स्वीकार गरिसकेको र प्रहरीले पर्याप्त प्रमाण फेला पारेको एसपी श्रेष्ठले बताएका छन् । स्मिथको शवको पोष्टमर्टम रिपोर्ट भने आउन बाँकी छ ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङमा राखेको छ ।

प्रतिक्रिया