काठमाडौं ।कलाकार सागर लम्साल ९बले० लाई सामाजिक सञ्जालमा जबरजस्ती करणीको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ । उनी हाल जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् । शनिबार कपनको बालुवाखानीस्थित आफ्नै घरबाट पक्राउ परेका बलेलाई सार्वजनिक शान्ति भङ्ग गरेको अभियोगमा हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
अमेरिकामा बस्दै आएकी संगम बिष्टले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलेले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । उक्त स्टाटस सार्वजनिक भएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार तत्काल हिरासतमा राख्नका लागि सार्वजनिक शान्तिविरुद्धको कसुर आकर्षित गरिएको हो । उनले भने, “अनुसन्धानको म्यादभित्र थप कुरा खुल्न आएमा वा पीडित पक्षबाट जाहेरी दर्ता भएमा सोहीअनुसार मुद्दा अगाडि बढाइनेछ ।” प्रहरीका अनुसार संगम बिष्टले खुला रूपमा आफ्नो परिचयसहित आरोप लगाए पनि अहिलेसम्म प्रहरीमा औपचारिक जाहेरी दर्ता भएको छैन । सामाजिक सञ्जालमा आएको सूचनाको आधारमा मात्र प्रहरीले तत्काल कारबाही अघि बढाएको हो । घटना अमेरिकामा भएको भनिएकाले अनुसन्धान गर्न प्रहरीलाई चुनौतीपूर्ण रहेको छ ।
फौजदारी अपराध संहिताको दफा २ अनुसार एक नेपाली नागरिकले अर्को नेपाली नागरिकमाथि फौजदारी कसुर गरेमा वारदातस्थल जहाँ भए पनि नेपालमा मुद्दा चलाउन सकिने व्यवस्था छ । यदि पीडित वा सरोकारवालाले जाहेरी दिएमा जबरजस्ती करणी मुद्दा काठमाडौंमै चल्न सक्ने प्रहरीले बताएको छ । एसएसपी थापाले भने, “अरु मुद्दा चल्न सक्छन् । हामीले रितपूर्वकको जाहेरी पाउनुपर्छ । अहिलेका लागि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिँदै छ । उनको सुरक्षाको दृष्टिकोणले पनि हिरासतमा राख्नुपर्ने अवस्था छ ।” यो घटनाले सामाजिक सञ्जालमा चर्चा र विवाद दुवै निम्त्याएको छ ।
कलाकार बले यसअघि पनि विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा रहँदै आएका थिए । संगम बिष्टले आरोप लगाएपछि सामाजिक सञ्जालमा ह्यासट्याग ट्रेन्ड भएका छन् भने केहीले बलेको बचाउ गर्दै ‘सूचना मात्रै आधारमा पक्राउ गर्न नहुने’ भन्दै आलोचना गरेका छन् । प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।
पीडितले जाहेरी दिएमा डीएनए परीक्षण, कल डिटेल्स र अमेरिकास्थित प्रमाण संकलनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी भइरहेको स्रोतले बताएको छ । यो प्रकरणले नेपालमा सामाजिक सञ्जालबाट आएका आरोपमा प्रहरीले कसरी तत्काल कारबाही गर्छ भन्ने विषयमा समेत बहस सुरु गरेको छ । बलेको गिरफ्तारीपछि उनको कानुनी टिमले समेत औपचारिक प्रतिक्रिया दिन बाँकी छ ।

प्रतिक्रिया