गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर भ्रष्टाचारविरुद्धको अनुसन्धान र अभियोजनमा तीव्रता दिन निर्देशन दिएका छन् । तीन दिनअघि गृहमन्त्री गुरुङ आफ्नो टोलीसहित अख्तियार मुख्यालय पुगेर राईसँग भेटेका थिए । भेटका क्रममा गृहमन्त्रीले सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भने, “सरकारको स्पिरिट समाएर काम गर्नुहोस् । सूचना, जनशक्ति वा अन्य केही चाहिन्छ भने भन्नुहोस्, म दिन तयार छु । कसैलाई पनि नछाड्नुहोस्, धमाधम फाइल खोल्नुहोस् । हाम्रो साथ रहनेछ ।”
गृहमन्त्री निकट स्रोतका अनुसार राईले भेटमा पूर्वप्रधानमन्त्री, पूर्वमुख्यसचिवलगायत उच्च पदाधिकारीहरू मुछिएका ठूला भ्रष्टाचार काण्डमा आफूले निष्पक्ष अनुसन्धान र अभियोजन गरिरहेको जानकारी गराएका थिए । यो भेटपछि अख्तियारले विगतमा दल र राजनीतिक नेतृत्वको दबाबमा रोकिएका दर्जनौं ठूला काण्डको अनुसन्धानलाई तीव्रता दिएको स्रोतले बताएको छ । विगतका वर्षहरूमा वाइडबडी विमान खरिद, नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा किनबेच, आयल निगमको जग्गा घोटाला, बालुवाटारको जग्गा प्रकरणलगायतका मुद्दाहरू राजनीतिक दबाबका कारण सुस्ताएको आरोप लाग्दै आएको थियो ।
गृहमन्त्री गुरुङले हालैका दिनमा भ्रष्टाचारमा शून्य सहनशीलता नीति अपनाउने बताउँदै आएका छन् । उनको यो भेटलाई सुशासन र भ्रष्टाचार नियन्त्रण अभियानको हिस्साको रूपमा हेरिएको छ । तर आयोगका प्रमुख राईमाथि पनि केही पुराना प्रकरणमा नाम जोडिने गरेको छ । अख्तियार स्रोतका अनुसार अब ठूला माछा मानिने व्यक्तिहरूमाथि मुद्दा दर्ता र अनुसन्धान प्रक्रिया छिट्टै अघि बढ्ने अपेक्षा गरिएको छ । सरकार र अख्तियारबीचको यो समन्वयले भ्रष्टाचार नियन्त्रणमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया