प्रकाश देउवाले अमेरिकाबाट लेखे पत्र

प्रकाश देउवाले अमेरिकाबाट लेखे पत्र


 

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश देउवाले आफू अझै केही समय प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिँदै सभामुख भीम भण्डारीलाई अमेरिकाबाट पत्र पठाएका छन्। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका देउवा कैलाली क्षेत्र नम्बर ५ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका उनी जेनजी आन्दोलनपछि अमेरिका गएका थिए।

देउवाले २०८२ भदौ २८ गते व्यक्तिगत कामका सिलसिलामा अमेरिका पुगेको उल्लेख गर्दै त्यसपछि देखिएको स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार उपचार र विश्राममा रहनुपरेको बताएका छन्। सोही कारणले आफू प्रदेशसभाका हालसम्म भएका बैठकहरूमा उपस्थित हुन नसकेको र आगामी २०८२ चैत २४ गते बस्ने बैठकमा समेत सहभागी हुन नसक्ने जानकारी उनले पत्रमार्फत दिएका छन्।   व्यक्तिगत कामका सिलसिलामा अमेरिका आएको भए पनि त्यसपछि देखिएको स्वास्थ्य समस्याका कारण उपचार र विश्राममा रहनुपरेको हुँदा सो अवधिमा सञ्चालन भएका प्रदेशसभाका बैठकहरूमा उपस्थित हुन असमर्थ भएको ब्यहोरा अवगत गराउँदछु,” उनले सभामुखलाई सम्बोधन गर्दै लेखेका छन्, “उक्त कारणले आगामी बैठकमा समेत उपस्थित हुन नसक्ने अवस्था रहेको जानकारी गराउन चाहन्छु।”

संविधानअनुसार सभामुखलाई जानकारी नदिई लगातार १० बैठकमा अनुपस्थित रहेमा पद नै गुम्न सक्ने व्यवस्था छ। यता प्रदेशसभा सचिवालयले देउवा लामो समय सम्पर्कमा नरहेको भन्दै उनका सेवा–सुविधा समेत रोकेको छ।