काठमाडौं। संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन सहमतिको आधारमा गर्न शीर्ष नेताहरु छलफलमा जुटेका छन्। गत २१ फागुनमा भएको संघीय संसदको निर्वाचनको परिणाम प्राप्त भएको तीन साता वितिसक्दा पनि संसदको दोश्रो ठूल दल कांग्रेसले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकसहितका संसदका पदाधिकारी चयन गर्न सकेको छैन।
शीर्ष नेताहरुबीच कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउने विषयमा छलफल चलेको छ। सांसद केसी र आङदम्बे दुबै जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन्। नेपाली कांग्रेसको संसदीय इतिहासमा समानुपातिक पूणालीबाट चयन भएका सांसद दलको नेता भएका छैनन्। तथापी समानुपातिक पूणालीबाट निर्वाचित सांसदलाई दलको नेता हुन संवैधानिक र कानुनी अड्चन भने छैन। सांसद केसी र आङ्दम्बेमध्ये एकलाई दलको नेता बनाउन शीर्ष नेताहरुले परामर्श चलाई रहँदा प्रत्यक्षतर्फ निर्वाचित रसुवाका साँसद मोहन आचार्य, डोटीको सांसद भरत खड्का, पाल्पाका संदीप राना र इलामका सांसद निस्कल राई लगायतले दलको नेतामा आ–आफ्नो दाबी पेश गरेका छन्।
समानुपातिकतर्फका सांसदमध्येबाट संसदीय दलको नेता चयन गर्न नेतृत्वले दवाव दिए बिद्रोह हुने चेतावनी प्रत्यक्षबाट निर्वाचित सांसदहरुले दिएका छन्। ‘हामीले नेतृत्वलाई आफ्ना कुरा राखेका छौं, उहाँहरुले गलत निर्णय गर्नुहून्न भन्ने बिश्वासमा छौ’, प्रत्यक्षबाट निर्वाचित एक सांसदले विकास टाइम्सलाई भने। पार्टीका शीर्ष पाँच नेताबीच सहमति जुटाउने प्रयास अहिले चलिरहेको छ। सभापति गगनकुमार थापा , उपसभापतिद्धय बिश्वप्रकाश शर्मा पुष्पा भुषाल र महामन्त्रीद्धय गुरु घिमिरे प्रदिप पौडेल हरूबीच संसदीय दलको नेताबारे सोमबार छलफल भएको थियो। प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूले दबाबका कारण कांग्रेस संसदीय दलको निर्वाचनको मिति भने अन्योलमा परेको छ। सभापति गगन थापा समानुपातिक सांसद अर्जुननरसिंह केसी र मोहन आचार्यमध्ये एकजनालाई दलको नेता बनाउन चाहन्छन् भने उपसभापति विश्व प्रकाश शर्माले भीष्म आंगदम्बेलाई नै संसदीय दलको नेता बनाउन सभापति गगनकुमार थापासहित कांग्रेस पदाधिकारीहरूलाई दबाब दिएका छन् । शर्मा निकट स्रोतअनुसार भीष्मलाई संसदीय दलको नेता बनाउन नसक्ने हो भने प्रत्यक्षमा इलामबाट निर्वाचित युवा सांसद निष्कल राईलाई बनाउनुपर्ने अडानमा रहेका शर्मा छन्।
कांग्रेसका अन्य पदाधिकारीहरूको भने दलको नेता कसलाई बनाउने भन्नेमा खासै स्वार्थ देखिएको छैन। यसरी संसदीय दलको निर्वाचनलाई लिएर सभापति थापा र उपसभापति शर्मा बीच मतान्तर देखिएको छ। सभापति थापा र उपसभापति शर्मा बीचको यो विवादबाट फाइदा उठाउन कांग्रेसको नियमित महाधिवेशन पक्षधरहरुले कोसिस गरिरहेका छन्। त्यसो नियमित महाधिवेशन पक्षधरको उम्मेदवार भने तय भएको छैन। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अनौपचारिक रुपमा भएपनि चैत २४ गते संसदीय दलको नेता चयन गर्ने सहमति भएको थियो। तर नेताहरु बीचको विवादका कारण तोकिएको मितिमा आज नेता चयनको सम्भावटा टरेको छ। यता सभापति थापाका विश्वास पात्र र सँगै क्याम्पसका सहपाठी रसुवाका सांसद मोहन आचार्य संसदीय दलको नेता बन्नेमा आशावादी देखिएका छन्। त्यति मात्र होइन अर्जुन नरसिंह केसी संसदीय दलको नेता बनाउनबाट रोकियो भने प्रत्यक्षबाट निर्वाचित डोटीका भरत खड्काले समेत दलको नेतामा दाबी गरेका छन्। केसी नभए आफू हुनुपर्ने लबिङमा खड्का जुटेका छन्।
त्यस्तै, मित्रराष्ट्रसँग बलियो सम्वन्ध भएका र अन्तराष्ट्रिय मामिलामा दख्खल राख्ने सन्दीप राना संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने भन्दै अडान नेताहरुसमक्ष प्रस्तुत गरेका छन्। कांग्रेसको संसदीय इतिहासमा २०६४ सालको निर्वाचनपछि दलको नेता सर्वसम्मत चयन भएको छैन। विशेष महाधिवेशनपछि पार्टीमा चरम गुटबन्दी बढेकाले यसपटक पनि मतदान प्रक्रियामार्फत् नेता चयन हुने सम्भावना उच्च छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको संसदीय दलको नेता चयन गर्दा समेत कांग्रेसले मतदान प्रक्रिया अपनाएको थियो।
तत्कालीन सभापति शेरबहादुर देउवालाई गगन थापाले दलको नेतामा चुनौति दिएका थिए। २१ फागुनमा सम्पन्न निर्वाचनमा टिकट वितरण गर्दा देउवा र थापा दुवैको हस्ताक्षर निर्वाचन आयोगमा पेश गरिएको थियो। सहमहामन्त्री प्रकाश स्नेही ‘रसाइली’ ले शीर्ष नेताबीच दलको नेता चयनसम्वन्धमा छलफल भइरहेको र सहमति नभए वैशाखको पहिलो सातासम्म निर्वाचन प्रक्रियाबाट भए पनि नेता चयन गरिने बताए। संसदीय दललको नेता र अन्य पदाधिकारी चयनका लागि सहमहामन्त्री स्नेहीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। कांग्रेसले यसलाई औपचारिक रूपमा सार्वजनिक गरेको छैन। संयोजक तोकिएका रसाइलीले भने समिति गठनबारे आफू अनभिज्ञ रहेको बताउँदै आएका छन्।

प्रतिक्रिया