काठमाडौं। नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा संसदीय दलको नेता को बन्ने भन्ने विषय गम्भीर र जटिल मोडमा पुगेको छ। संघीय संसदको दोश्रो ठूलो दलको हैसियतले प्रमुख प्रतिपक्षी दल समेत भएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण मत परिणाम आएको तीन साता वितिसक्दा पनि दलको नेता चयन गर्न सकेको छैन्।
कांग्रेसका प्रभावशाली नेता तथा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो बरिष्ठता, योगदान, अनुभव र निरन्तरताको हैसियतले समेत दलको नेतामा स्वाभाविक दाबी गरेका छन्। उनलाई दलको नेता नबन्न अन्य नेताले प्रत्यक्ष दबाब दिन सकेका छैनन्।
नेता केसीलाई दोश्रो र तेश्रो पुस्ताले आकांक्षा गरेको वा प्रत्यक्ष निर्वाचित सांसदलाई दलको नेता दिनु पर्ने भनेर पार्टी भित्रै ‘लबिङ’ हुन थालेपछि उनी असन्तुष्ट देखिएका छन्।
नेता केसीलाई संसदीय दलको नेतामा दाबी नगर्न मंगलबार बिहान केसी निवास पुगेका कांग्रेस पदाधिकारीहरुलाई उनले नाजवाफ बनाएर फर्काएका छन्।
स्रोतका अनुसार केसीलाई संसदीय दलको नेताको दाबीबाट पछि हट्न भन्दै कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतम, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल तथा पार्टी प्रवक्ता देबराज चालिसेले आग्रह गरेका थिए।
केसीलाई मनाउन गएकी उपसभापति पुष्पा भुषालले नेता केसीको अनुभव र योगदानको हैसियले दलको नेताको दाबी स्वभाविक भएको कुरा आफूलाई व्यक्तिगत रुपमा लागेपनि बदलिएको परिस्थिति र अन्य साथि भाईहरुको माग बमोजिम दाबी त्याग गर्न आग्रह गरेकी थिइन्। भेटमा महामन्त्री घिमिरेले दोश्रो वा तेश्रो पुस्ताले दलको नेता दाबी गरेको, समानुपातिकलाई नदिएर प्रत्यक्षबाट निर्वाचितलाई दलको नेता बनाउन दबाब र आग्रह आएको, जेन्जी आन्दोलनको माग र सन्दर्भलाई समेत मध्यनजर राखेर दलको नेता दाबी नगर्न आग्रह गरेका थिए।
विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई नेता केसीले सभापति गगनकुमार थापाको ससुरा भएको नाता देखाएर मेरो राजनीतिलाई अबमुल्यन गर्न खोजेको भन्दै सभापति थापा जन्मनुभन्दा अघिदेखि आफू कांग्रेसको राजनीतिमा सक्रिय र प्रतिबद्ध भएर। भूमिका निभाएको जनाएका थिए। केसीले आफूले के कारणले र किन दलको नेता दाबी परित्याग गर्नु पर्ने भनेर प्रतिप्रश्न गर्दा नेताहरु नाजावाफ भएका थिए।
केसीले आफूले दलको नेता दाबीबाट पछि हट्दा पार्टी भित्र र वाहिरको राजनीति सबै सहीसलामत जान्छ भन्ने आधार र कारण के हो भनी प्रश्न गरेका थिए। केसीले आफूलाई दलको नेताबाट पछि हट्न बाध्य बनाईएमा आफूले छुट्टै एक सांसदलाई दलको नेताको उम्मेदवारको रुपमा अघि सार्न बाध्य हुने परिस्थितिलाई समेत ख्याल गर्न चेतावनी दिएका थिए। नेता केसीले दलको नेताको दाबीबाट पछि नहटेपछि कांग्रेसमा संसदीय दल गठनमै जटिलता र समस्या देखा परेको छ।

प्रतिक्रिया