यी ३ मुद्दामा मतभेद हुँदा असफल भयो अमेरिका-इरान वार्ता

यी ३ मुद्दामा मतभेद हुँदा असफल भयो अमेरिका-इरान वार्ता


पाकिस्तान ।स्थायी युद्धविरामका लागि अमेरिका र इरानबीच पाकिस्तानमा भएको २१ घण्टा लामो प्रत्यक्ष वार्ता बिना नतिजा टुंगिएको छ ।   अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तापछि भने, “हामीले सक्ने जति प्रस्ताव दियौं, तर इरानले अस्वीकार गर्‍यो । हाम्रा रेडलाइनहरू के–के हुन् भनेर स्पष्ट पारिसकेका छौं ।”

वार्तामा मुख्य तीन विषयमा ठूलो मतभेद देखिएको छ :

हर्मुज जलमार्ग: अमेरिकाले तत्काल खोल्न माग गरेको थियो । इरानले अन्तिम सम्झौता नभएसम्म खोल्न नसक्ने अडान राख्यो ।

प्रशोधित युरेनियम: इरानसँग रहेको करिब ४०० किलो प्रशोधित युरेनियम बुझाउन अमेरिकाको माग थियो । इरानले अस्वीकार गरेको छ ।
रोक्का रकम: विदेशमा रहेको इरानको २७ अर्ब डलर रकम खुला गर्नुपर्ने र ६ हप्ताको बमबारीको क्षतिपूर्ति दिनुपर्ने इरानी मागलाई अमेरिकाले अस्वीकार गरेको छ ।

अमेरिकी उपराष्ट्रपति भान्सले भने, “इरानले आणविक हतियार बनाउने छैन भन्ने स्पष्ट प्रतिबद्धता दिनुपर्छ । यो हाम्रो मुख्य लक्ष्य हो ।”इरानी पक्षले भने एकै चरणको वार्ताबाट पूर्ण समाधान ननिस्कने स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले भने, “एकै पटकमा सहमति हुन्छ भन्ने अपेक्षा गर्नुहुँदैन । अमेरिकासँग सम्पर्क कायम राख्नेमा हामी विश्वस्त छौं ।”

मध्यस्थकर्ता पाकिस्तानले भने वार्तालाई निरन्तरता दिन दुवै पक्षलाई आग्रह गरेको छ । इरानी सभामुख मोहम्मद गलिबाफले वार्ता असफल हुनुमा अमेरिकालाई दोष दिएका छन् । उनले भने, “हामी इमानदार छौं, तर विगतका अनुभवका कारण हामीलाई विश्वास गर्न गाह्रो छ ।”   वार्ता असफल भए पनि दुवै पक्षले भविष्यमा थप चरणको वार्ता हुन सक्ने संकेत दिएका छन् । यद्यपि इजरायल भने युद्धविरामको विपक्षमा रहेको र लेबनानमा आक्रमण जारी राखेको छ ।