काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण मानिएको कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको प्रस्ताव गरिएको यो आयोजनालाई विस्तृत अध्ययनपछि ६४० मेगावाटमा झारिएको छ । यो क्षमता आयोजना क्षेत्रको भौगोलिक अवस्था, पर्यावरणीय संवेदनशीलता र प्राविधिक व्यवहार्यतालाई ध्यानमा राखेर निर्धारण गरिएको आयोजना पक्षले जनाएको छ ।
हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयारी भइरहेको छ । विद्युत् विकास विभागले जेभी स्मेक इन्टरनेसनल र जेड कन्सल्टसँगको सहकार्यमा सम्भाव्यता अध्ययन र EIA काम गरिरहेको छ । EIA प्रतिवेदन स्वीकृत भएपछि मात्र निर्माण चरणमा प्रवेश गर्न सकिनेछ ।आयोजनाको मुख्य बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटर माथि उर्लेनी खङ्गकोटमा निर्माण हुनेछ । यो स्थान कालीगण्डकी गाउँपालिका–६ (गुल्मी) र बिहादी गाउँपालिका–२ (बर्राचौर, पर्वत) मा पर्छ । २४४ मिटर अग्लो बाँध निर्माण हुने यो आयोजनामा पानी जम्मा हुँदा खनियाघाटसम्म २९ किलोमिटर लामो जलाशय बन्नेछ । आयोजनाको नेट हेड १८३.४ मिटर, डिस्चार्ज ४०५ घनमिटर प्रति सेकेन्ड र वार्षिक ऊर्जा उत्पादन १६४५.६५ गिगावाट घण्टा रहने अनुमान छ ।
आयोजनामा चारवटा स्टिल पेनस्टक र चारवटा फ्रान्सिस टर्बाइन जडान गरिने भएको छ । विद्युत्गृह बिहादी गाउँपालिका–२ बर्राचौरमा रहनेछ । यस आयोजनाबाट पर्वतका जलजला, कुश्मा, फलेवास, बिहादी गाउँपालिका तथा बागलुङका बागलुङ र जैमिनी नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिका प्रभावित हुने छन् । स्थानीयबासीको पुनर्वास, कृषि भूमि र पर्यावरण संरक्षणका विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडक, दोबिल्ला–फलेवास सडक, कालीगण्डकी लोकमार्ग र कालीगण्डकी करिडोरबाट सजिलै पहुँच गर्न सकिन्छ । जलाशयुक्त प्रणाली भएकाले यो आयोजना वर्षायामको अतिरिक्त पानी भण्डारण गरी सुक्खायाममा समेत निरन्तर विद्युत् उत्पादन गर्न सक्षम हुने छ ।

प्रतिक्रिया