काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र क्रियाशील सदस्यता खारेज गर्ने निर्णयलाई अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक भएको बताएका छन् ।
पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला एक पक्षले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा, सोही समयसीमाभित्र नवीकरण तथा वितरण भएका क्रियाशील सदस्यता खारेज गरी फेरि नवीकरण गर्नुपर्ने निर्णयप्रति खड्काले तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।सोमबार जारी गरेको वक्तव्यमा खड्काले भनेका छन्, “क्रियाशील सदस्यता व्यक्तिको पार्टी आवद्धताको प्रमाणपत्र मात्र होइन, पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा हो । महाधिवेशनले वैधानिक व्यवस्था गरे बाहेक कसैले पनि आम सदस्यहरूको सदस्यता खारेज गर्न सक्दैन ।”
उनले थप भने, “निर्धारित कार्यतालिकाभित्र नवीकरण गर्न छुटेका सदस्यहरूलाई थप सुविधा दिनु स्वाभाविक हो तर पहिले नै नवीकरण भएकाहरूलाई फेरि खारेज गर्नु गलत, पूर्वाग्रही र आपत्तिजनक छ ।” खड्काले पार्टीभित्रका उतारचढावका बेला विधानअनुसार पहिले नै तय गरिएको कार्यतालिकाभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए । मुलुक विपक्षी राजनीतिक परिस्थितिमा रहेको बेला पार्टीभित्र बृहत् एकता खोज्नुपर्नेमा जोड दिँदै उनले पार्टी कमजोर पार्ने गतिविधि नगर्न आग्रह गरेका छन् ।
“पार्टीका सबै तहका पदाधिकारी, सदस्य, क्रियाशील सदस्य, समर्थक तथा शुभचिन्तकहरूलाई यस्ता अव्यवहारिक गतिविधिबाट अलग रहन र राष्ट्र, जनता तथा पार्टी हितमा निरन्तर क्रियाशील रहन हार्दिक अपिल गर्दछु,” उनले भनेका छन् ।

प्रतिक्रिया