तेहरान । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी लगाउने घोषणा गरेपछि इरानले कुनै पनि धम्की वा दबाबको सामना नगर्ने स्पष्ट पारेको छ ।इरानी सरकारले अमेरिकाको कुनै पनि कदममा आफू नझुक्ने र आवश्यक परे कडा प्रतिक्रिया दिने बताएको हो । पाकिस्तानमा भएको शान्ति वार्ता लगभग सहमतिनजिक पुग्दा पनि अमेरिकाले अत्यधिक माग र लक्ष्य परिवर्तन गरेको इरानको आरोप छ ।इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गर्दै लेखेका छन्, “अहिले इन्धनको मूल्यको मजा लिनुहोस् । तथाकथित नाकाबन्दीपछि तपाईंहरू ४–५ डलरको पेट्रोल मूल्य सम्झनुहुनेछ ।”
इरानी नौसेनाले पनि स्ट्रेट अफ होर्मुज नजिक आउने कुनै पनि अमेरिकी सैन्य जहाजलाई कडा रूपमा सामना गरिने चेतावनी दिएको छ ।ट्रम्प प्रशासनले स्ट्रेट अफ होर्मुजमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै जहाजलाई रोक्ने चेतावनी दिएपछि इरानले यो प्रतिक्रिया दिएको हो । इरानले यसलाई आफूमाथि आर्थिक युद्धको प्रयास भनेको छ ।
विश्लेषकहरूका अनुसार होर्मुज जलडमरुमा बढ्दो तनावले विश्वव्यापी तेल आपूर्तिमा गम्भीर प्रभाव पार्न सक्छ । विश्वको ठूलो हिस्साको तेल ढुवानी हुने यो जलमार्गमा नाकाबन्दी लागू भएमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकाशिने र वैश्विक ऊर्जा सुरक्षा जोखिममा पर्ने देखिन्छ ।

प्रतिक्रिया