तीन वर्षमा रुपातालको यसरी फेरिदैछ रुप

तीन वर्षमा रुपातालको यसरी फेरिदैछ रुप


गण्डकी।  गण्डकी प्रदेशको लेखनाथ क्षेत्रमा अवस्थित रुपाताल आगामी तीन वर्षभित्रै थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुने अपेक्षा गरिएको छ। पर्यावरणीय संरक्षण, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यस तालको संरक्षण र विकासका लागि विस्तृत गुरुयोजना कार्यान्वयन भइरहेको छ।

जलस्रोत तथा सिँचाइ विभागका अनुसार रुपाताल संरक्षणलाई प्राथमिकतामा राखेर विभिन्न संरचनात्मक तथा वातावरणीय कामहरू एकसाथ अघि बढाइएका छन्। विभागका महानिर्देशक मित्र बरालले रुपाताल संरक्षण गुरुयोजनाअन्तर्गत पर्यावरणीय सन्तुलन कायम गर्दै तालको दीर्घकालीन उपयोगिता बढाउने उद्देश्यले काम भइरहेको जानकारी दिनुभयो।

लेखनाथ नगरपालिका वडा नं. १०, ११ र १४ का केही भागमा फैलिएको रुपाताल प्राकृतिक तथा मानवीय अतिक्रमणका कारण विगतमा खुम्चिँदै गएको थियो। त्यसपछि विस्तृत योजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा संरक्षण तथा विकासका काम सुरु गरिएको हो। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराका प्रमुख विदुरमान श्रेष्ठका अनुसार २०७५/०७६ सालदेखि सुरु गरिएको यो परियोजनाको कुल लागत रु चार अर्ब ५२ करोड अनुमान गरिएको छ, जसमध्ये हालसम्म करिब रु दुई अर्ब ७० करोड बराबरको काम सम्पन्न भइसकेको छ। आयोजना २०८५/०८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हाल १२२ हेक्टर क्षेत्रफलमा फैलिएको रुपाताल बाँध निर्माण सम्पन्न भएपछि १८३ हेक्टर क्षेत्रफलमा विस्तार हुने जनाइएको छ। तालको गहिराइ हालको तीन मिटरबाट बढेर सात मिटर पुग्नेछ। यसका लागि ५९० मिटर माटोको बाँध र ४५ मिटर कङ्क्रिट बाँध निर्माण भइरहेको छ, जसको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। बाँध निर्माण २०८३ भदौसम्म सम्पन्न गर्ने लक्ष्य छ।

परियोजनाअन्तर्गत तालको बायाँ किनारमा ७.८ किलोमिटर पक्की सडक निर्माण भइसकेको छ भने दायाँ किनारमा पाँच किलोमिटर लामो इको ट्रेल निर्माण गर्ने योजना रहेको छ। तालको बीच भागमा आकर्षक टापु निर्माण गरी त्यहाँ मन्दिर स्थापना गर्ने योजना पनि अघि बढाइएको छ। साथै, तालको सतह विस्तार गर्न आठ लाख घनमिटर माटो निकाल्ने कार्य भइरहेको छ।

रुपाताल संरक्षणसँगै आसपासको क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि राखिएको छ। तालमाथि निर्माण गरिएको २६९ मिटर लामो झोलुङ्गे पुल, प्राणी उद्यान केन्द्र तथा विभिन्न वन्यजन्तु र चराचुरुङ्गी अवलोकन स्थलले पर्यटकको आकर्षण बढाइरहेको छ। यहाँ चितुवा, नीलगाई, चित्तल, अजिङ्गरलगायत विभिन्न वन्यजन्तु र सयौँ प्रजातिका चराहरू पाइन्छन्। हिउँदको समयमा चीन र साइबेरियाबाट आउने विदेशी चराहरूका कारण चरा पर्यटनको सम्भावना पनि बढ्दो छ।

यसका साथै रुपातालमा मोती उत्पादनको परीक्षण पनि सुरु गरिएको छ। परीक्षण सफल भएमा ताललाई नयाँ आर्थिक गतिविधिसँग जोड्न सकिने अपेक्षा गरिएको छ। स्थानीय सहकारी र सरोकारवाला निकायहरूले ताल संरक्षणमा सक्रिय भूमिका खेल्दै आएका छन्।

समग्रमा, गुरुयोजना अन्तर्गतका सबै काम सम्पन्न भएपछि रुपातालको स्वरूपमा आमूल परिवर्तन आउने र यो क्षेत्रकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास हुने विश्वास गरिएको छ।