वीरगन्ज। सडक विभागले वीरगन्जको मुख्य सडक विस्तार कार्य औपचारिक रूपमा सुरु गरेको छ। आइतबार बिहानैदेखि विभागले वीरगन्ज महानगरपालिका र स्थानीय प्रशासनको सहयोगमा सडक क्षेत्रमा रहेका संरचनाहरू हटाउने काम थालेको हो।
सडक फराकिलो बनाउने योजनाअन्तर्गत बिहानैदेखि एकैसाथ १३ वटा डोजर प्रयोग गरी शहरका मुख्य मार्गमा रहेका अवरोधहरू हटाइँदै छन्। सडक विभागका अनुसार वीरगन्जको मुख्य सडकलाई दायाँ र बायाँ दुवैतर्फ २५–२५ मिटर फराकिलो बनाउने लक्ष्यसहित विस्तार कार्य अघि बढाइएको हो। यस अभियानअन्तर्गत पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया हुँदै भन्सार क्षेत्रसम्मका सडक किनारमा रहेका घरटहरा तथा अन्य संरचनाहरू हटाउने काम भइरहेको छ। सडक विस्तार सम्पन्न भएपछि यस क्षेत्रको यातायात व्यवस्थापन सहज हुने तथा सवारी जामको समस्या घट्ने अपेक्षा गरिएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ सूचना जारी गर्दै आइतबार बिहानदेखि सडक विस्तारको काम सुरु हुने जानकारी दिएको थियो। प्रशासनले सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन सम्बन्धित पक्षलाई पूर्वसूचना दिइसकेको जनाएको छ। स्थानीय प्रशासनका अनुसार सडक विस्तार कार्य चरणबद्ध रूपमा अघि बढाइनेछ र आवश्यक परे थप जनशक्ति तथा उपकरण परिचालन गरिनेछ। यस परियोजनाले वीरगन्जको शहरी विकास तथा यातायात व्यवस्थापनमा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया