जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने


जुम्ला। जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन् । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने भन्दै यहाँको कनकासुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले आइतबार पनि नियमित पठनपाठन जारी राख्ने सार्वजनिक सूचनामार्फत जनाएका छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार पालिकाभित्रका २९ वटै सामुदायिक विद्यालय वैशाख १५ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउनेछ । सिञ्जा गाउँपालिकाले वैशाख ८ गतेदेखि पालिकाभित्रका सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

जिल्लाको कनकासुन्दरी गाउँपालिकाले वैशाख ७ गतेदेखि नियमित पठनपाठन सुरु गरेको गाउँपालिकाका कावाध्यक्ष प्रेमकली बुढाको भनाइ छ । नेपाल सरकारले शैक्षिकसत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरे पनि यहाँका कनकासुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले भने आफ्नै शैक्षिक क्यालेन्डरअनुसार शैक्षिकसत्र कार्यक्रम सुरु गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत २६ गते ७७ वटै जिल्लामा सरकारले दिएको निर्देशन पालना गर्न पत्राचार गरेको थियो ।