नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन मंसिरमा, यस्तो छ कार्यतालिका

नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन मंसिरमा, यस्तो छ कार्यतालिका


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । केन्द्रीय कार्यसंयोजन समितिको बैठकले महाधिवेशनको कार्यतालिकासमेत बनाएको छ ।कार्यसंयोजन समितिको बैठक २०८३ चैत १९ गते सुरु भई १० दिनसम्म सञ्चालन भएर वैशाख १४ गते सम्पन्न भएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पार्टी संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न भएको थियो भने सह–संयोजक क. माधवकुमार नेपालले बैठक सञ्चालन गरेका थिए ।

बैठकले पार्टी एकीकरणपछिको पहिलो कार्ययोजना तय गर्दै वैचारिक, सांगठनिक र समसामयिक राजनीतिक विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

निर्वाचन समीक्षा प्रतिवेदन पारित

बैठकमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरिएको छ। पार्टी संयोजकद्वारा प्रस्तुत प्रतिवेदनमाथि व्यापक छलफल गरी सुझावसहित परिमार्जन गर्दै प्रतिवेदन पारित गरिएको छ ।

कार्ययोजनाका मुख्य बुँदा

बैठकले पार्टी पुनर्गठन र सुदृढीकरणलाई प्राथमिकता दिएको छ । आगामी मंसिर दोस्रो सातामा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको छ । केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीहरू निर्वाचित गर्ने र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने नीति लिइएको छ ।

युवा तथा नयाँ पुस्ताको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य राखिएको छ । कम्युनिस्ट आन्दोलनको पुनर्गठन तथा एकीकृत पार्टी निर्माणमा विशेष पहल गर्ने निर्णय भएको ज्वालाले जानकारी दिएका छन् ।

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि सडक र सदन दुवै मोर्चाबाट सक्रिय भूमिका खेल्ने नीति तय गरिएको छ । पार्टी पंक्तिलाई उत्पादन र श्रमसँग जोड्ने अभियान सञ्चालन गरिने जनाइएको छ ।

पार्टी तथा जनवर्गीय/मोर्चा संगठनहरूको एकीकरण र समायोजन प्रक्रिया २०८३ जेठ मसान्तसम्म पूरा गर्ने निर्णय गरिएको छ ।

अधिवेशन तालिका सार्वजनिक

बैठकले विभिन्न तहका अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छः

असार–साउन: सदस्यता नवीकरण तथा विस्तार
भदौ १५ सम्म: वडा अधिवेशन
भदौ मसान्तसम्म: पालिका अधिवेशन
असोज मसान्तसम्म: जिल्ला अधिवेशन
कात्तिक १५ सम्म: प्रदेश अधिवेशन
मंसिर ११–१५: काठमाडौंमा एकता राष्ट्रिय महाधिवेशन
संविधान संशोधन सुझाव कार्यदल गठन

पार्टीले संविधान संशोधन सुझाव कार्यदल पनि गठन गरेको छ । कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह लगायत ११ जना सदस्य रहेका छन् ।