राजनीतिक नियुक्ति खारेज गर्नेसहित ३ अध्यादेश जारी

राजनीतिक नियुक्ति खारेज गर्नेसहित ३ अध्यादेश जारी


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्ले सिफारिस गरेका विभिन्न ८ अध्यादेशमध्ये राष्ट्रपतिबाट शनिबारसम्म ६ वटा अध्यादेश जारी भएका छन् ।

शनिबार राष्ट्रपतिले जारी गरेका तीनवटा अध्यादेशमध्ये एक सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष अध्यादेश रहेको छ । रास्वपा नेतृत्वको सरकारले यसअघिका सरकारका पालामा विभिन्न ११० वटा सरकारी पदमा नियुक्ति भएका पदाधिकारीलाई पदमुक्त गर्न यो अध्यादेश ल्याएको हो ।

यो अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै ऐन सरह कार्यान्वयनमा आउनेछ । जसले बालेन सरकारलाई राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई पदमुक्त गर्न कानुनी बाटो खुल्नेछ ।

यस्तै राष्ट्रपतिले शनिबार स्वास्थ्य प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरेका छन् । यसअघि राष्ट्रपतिले सहकारीसम्बन्धी, सार्वजनिक खरिदसम्बन्धी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका थिए ।

अझै राष्ट्रपतिले सबैभन्दा विवादित बनेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने जारी गरेका छैनन् ।