मध्यमग्राम। । पश्चिम बंगाल विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा० ले ऐतिहासिक जित हासिल गरेर तृणमूल कांग्रेसको १५ वर्ष लामो शासन समाप्त गरेको मात्र दुई दिनपछि नै ठूलो राजनीतिक हिंसाको घटना घटेको छ। भाजपा नेता तथा सम्भावित मुख्यमन्त्री शुभेन्दु अधिकारीका विश्वासिलो स्वकीय सचिव चन्द्रनाथ रथको अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका छन्।
प्रहरीका अनुसार बुधबार साँझ मध्यमग्रामको दोहारिया क्षेत्रमा रथ आफ्नो कारमा सवार रहेका बेला मोटरसाइकलमा सवार आक्रमणकारीहरूले उनको कारलाई पछ्याएका थिए। कारको गति कम हुनासाथ आक्रमणकारीले कम्तीमा चार राउन्ड गोली प्रहार गरेका थिए। जसमध्ये तीन गोली रथलाई लागेको थियो। गोली सिर, छाती र पेटमा लागेको बताइएको छ। घटनास्थलमा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा कारको अगाडिको झ्यालमा गोलीका प्वालहरू स्पष्ट देखिन्छन्। रथलाई घटनास्थल नजिकैको अस्पताल लगिएको थियो तर उनको मृत्यु भएको थियो।
आक्रमणमा कार चालक घाइते
घटनाको समयमा कार चालक बुद्धदेव घाइते भएका छन्। उनको उपचार भइरहेको छ। केही रिपोर्ट अनुसार शुभेन्दु अधिकारी पनि सोही क्षेत्रमा रहेका थिए तर आक्रमणमा उनी कारमा सवार थिएनन्।
यो घटनाले निर्वाचनपछिको हिंसा नियन्त्रणमा चुनौती थपिदिएको छ। भाजपा पक्षले यसलाई लक्षित हत्या र गहिरो षड्यन्त्रको रूपमा व्याख्या गरेको छ। शुभेन्दु अधिकारीका भाइ दिव्येन्दु अधिकारीले तृणमूल कांग्रेसका ‘गुन्डाहरू’को संलग्नता रहेको आरोप लगाउँदै केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई० बाट निष्पक्ष छानबिनको माग गरेका छन्। भाजपा नेताहरूले तृणमूलले विकास गरेको ‘हिंसाको संस्कृति’को परिणाम भनेका छन्।
तृणमूलको प्रतिक्रिया
तृणमूल कांग्रेसले भने घटनाको निन्दा गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जारी गरेको छ। पार्टीले भाजपा पक्षधर तत्वहरूले नै निर्वाचनपछिको हिंसा मच्चाइरहेको र केही तृणमूल कार्यकर्ताको पनि हत्या भएको दाबी गरेको छ। टिएमसीले हिंसाका सबै घटनाको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।
चन्द्रनाथ रथ राजनीतिक पृष्ठभूमि
चन्द्रनाथ रथ शुभेन्दु अधिकारीका लामो समयदेखिका राजनीतिक संयोजक तथा भित्री घेराका अत्यन्त विश्वासिलो पात्र थिए। उनी भवानीपुर जस्ता महत्वपूर्ण क्षेत्रमा पार्टीको संगठन मजबुत बनाउन सक्रिय थिए। शुभेन्दु अधिकारीले भवानीपुरमा ममता बनर्जीलाई ठूलो मतान्तरले पराजित गरेर ‘जायन्ट किलर’को छवि बनाएका थिए। भाजपाले २०७ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ। अधिकारीलाई मुख्यमन्त्री पदको प्रमुख दाबेदार मानिँदै छ।
कोलकाता प्रहरी प्रमुख अजय कुमार नन्दले निर्वाचनपछिका विभिन्न हिंसात्मक घटनामा ८० जनालाई पक्राउ गरिएको र १५ जनालाई सुरक्षा कारणले नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। प्रहरीले घटनाको छानबिन तीव्र पारिरहेको जनाएको छ।
यो हत्याले पश्चिम बंगालको राजनीतिमा नयाँ तनाव सिर्जना गरेको छ। निर्वाचन जितेर सरकार गठनको तयारीमा रहेको भाजपाले कानुन व्यवस्था कायम राख्न चुनौती सामना गर्नुपर्ने देखिएको छ भने विपक्षी तृणमूलले हिंसालाई राजनीतिक हतियार बनाउने प्रयास गरिरहेको आरोप लागेको छ। राज्यमा शान्ति कायम गर्न केन्द्र सरकार र राज्य प्रशासन दुवैलाई दबाब बढेको छ।

प्रतिक्रिया