काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने र मोदीबीच बुधबार दिल्लीमा भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई उच्च स्तरमा पुर्याउने बताएका छन् । मोदीले भने, “हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेक पहिले) नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र हो । नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउने अपेक्षा छ ।”
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाानेसँग भेट गर्न पाउँदा खुसी छु । साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन पनि गर्दछु ।”
भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेश मन्त्री डा. एस जयशंकर समेत उपस्थिति थिए ।
भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेलाई मंगलबार भारती जनता पार्टी कार्यालयमा भव्य स्वागत गरिएको थियो । सत्तारुढ दल भाजपाका अध्यक्ष नितिन नवीनले रास्वपा सभापति लामिछानेलाई स्वागत गरेका थिए । लामिछानेले मंगलबार नै भारतीय विदेशमन्त्री जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटघाट गरेका थिए ।
सभापति लामिछाने पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्यसहित पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते दिल्ली गएका थिए ।

प्रतिक्रिया