पालिका उपाध्यक्ष कुँवर आक्रमण प्रयासको विरोधमा महिला सङ्गठनको प्रदर्शन

पालिका उपाध्यक्ष कुँवर आक्रमण प्रयासको विरोधमा महिला सङ्गठनको प्रदर्शन


रुपन्देही । गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर तथा कर्मचारीमाथि भएको भनिएको आक्रमण प्रयासका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै जिल्लाका विभिन्न महिला सङ्गठनहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गरेका छन् ।

अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नेपाल महिला संघ तथा अखिल नेपाल महिला संघ गुल्मीको संयुक्त आयोजनामा भएको प्रदर्शनमा सहभागी महिलाहरूले घटनाका सङ्लग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन तथा महिला जनप्रतिनिधि र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न माग गरेका हुन् ।

महिला सङ्गठनहरूको आरोपअनुसार जेठ ८ गते मालिका गाउँपालिका–८ कुटी सिमलटारीमा आयोजित एक सत्सङ्ग कार्यक्रममा सहभागी भई फर्किने क्रममा इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर, सवारी चालक रामबहादुर खत्री तथा अन्य कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमणको प्रयास गरिएको थियो ।

इस्मा गाउँपालिका–५ अन्तर्गत हुलाके र दोबाटो क्षेत्रमा अज्ञात समूहले उपाध्यक्ष कुँवर सवार गाडीको पिछा गर्दै अवरोध सिर्जना गरेको, गालीगलौज गरेको, कर्मचारीलाई लछारपछार गरेको तथा सवारी साधनमा पेट्रोल छर्केर आगजनीको प्रयास गरेको महिला सङ्गठनहरूको भनाइ छ ।

प्रदर्शनका क्रममा महिला नेतृहरूले महिला जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीमाथि कार्यक्षेत्रमै गरिएको यस्तो व्यवहार अराजक, आपराधिक र निन्दनीय भएको बताएका छन् । उनीहरूले सभ्य समाजमा यस्ता घटना स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरे ।

पीडित पक्षले घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीमा किटानी जाहेरी दर्ता गरिसकेको भए पनि हालसम्म कुनै पनि दोषी पक्राउ नपर्नु र अनुसन्धान प्रक्रिया प्रभावकारी रूपमा अघि नबढ्नु गम्भीर चिन्ताको विषय बनेको महिला सङ्गठनहरूको भनाइ छ ।

घटनासम्बन्धी प्रमाणहरू सार्वजनिक भइसकेको अवस्थामा पनि अनुसन्धानमा ढिलाइ भएको भन्दै उनीहरूले सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रदर्शनपछि महिला सङ्गठनका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाउँदै घटनाका सङ्लग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, महिला जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।

माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखविरुद्ध नाराबाजी समेत गरेका थिए ।