काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ। जयशंकरको निमन्त्रणामा तीनिदने भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल शुक्रबार दिल्ली प्रस्थान गरेका थिए । खनालको यो पहिलो औपचारिक भारत भ्रमण हो ।
दुई देशका प्रतिनिधिमण्डलबीच अहिले दिल्लीमा द्विपक्षीय भेटवार्ता जारी रहेको छ । भारतीय विदेशमन्त्री डा. जयशंकरले भेटवार्ताबारे जानकारी दिँदै आफ्नो सामाजिक सञ्जालमार्फत नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै राखेको प्रारम्भिक मन्तव्यसमेत साझा गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल औपचारिक भ्रमणका लागि शुक्रबार भारत पुगेका हुन् । उनी भारतीय विदेशमन्त्री डा. जयशंकरको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् ।
स्टार्टअप, कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि तथा नवीकरणीय ऊर्जा लगायतका नयाँ क्षेत्रमा नेपाल र भारतबीच सहकार्य विस्तार गर्ने पर्याप्त अवसर रहेको भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बताएका छन् ।
द्विपक्षीय भेटवार्ताको सुरुवातमा मन्तव्य राख्दै उनले भने, ‘हामीसँग स्टार्टअप, एआई, सूचना प्रविधि, नवीकरणीय ऊर्जा लगायतका नयाँ क्षेत्रमा सहकार्यलाई अझ अगाडि बढाउने अवसर छ । हाम्रो लामो र विशिष्ट खुला सीमामा सुरक्षा कायम राख्न पनि हामी मिलेर काम गरिरहेका छौं ।’
उनले नेपाल र भारत सधैं एकअर्काको साथमा उभिँदै आएको उल्लेख गर्दै पश्चिम एसियामा जारी संकटका बीच पनि नेपालमा इन्धन आपूर्तिलाई निरन्तरता दिइएको बताए ।
जयशंकरले हालै भारत भ्रमण सम्पन्न गरेर फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भ्रमणले पनि दुई देशबीचको सम्बन्ध सुमधुर रहेको पुष्टि गरेको दाबी गरे ।
उनका अनुसार नेपाल सरकारले तय गरेका प्राथमिकता र भारतले छिमेकी मुलुकहरूप्रति अवलम्बन गरेका नीतिबीच आपसी विश्वासका आधारमा सहकार्यलाई थप मजबुत बनाइनेछ ।
नेपाल–भारत सम्बन्ध सीमापार कनेक्टिभिटी, ऐतिहासिक निकटता तथा साझा सांस्कृतिक र धार्मिक परम्परामाथि आधारित रहेको उल्लेख गर्दै उनले दुई देशको साझा प्रगति, समृद्धि र जनकल्याणका लागि भारत नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बता ए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गर्दै आएको प्रतिबद्धताअनुसार नेपालसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने भारतको नीति रहेको पनि स्पष्ट पारे ।
परराष्ट्रमन्त्री खनाल २४ जेठसम्म भारत भ्रमणमा रहने कार्यक्रम छ ।
यसअघि परराष्ट्र मन्त्रालयले उक्त भेटवार्तामा नेपाल–भारत सम्बन्धका पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने जनाएको थियो। विशेषगरी व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा सहयोग तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ ।
आजै परराष्ट्रमन्त्री खनाल र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि वार्ता गरेका थिए ।
खनालको भारत भ्रमणा सुरु भएकै दिन सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण गरी नेपाल फर्किएका थिए । लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री जयशंकर, नितिन नवीनसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया