गायिका एलिना र मेला आयोजकबीच आरोप-प्रत्यारोप, के हो खास कुरा ?

गायिका एलिना र मेला आयोजकबीच आरोप-प्रत्यारोप, के हो खास कुरा ?


गायिका एलिना चौहानले आज एक युवकको फोटो सामाजिक सञ्जालमा राखेर ठाडो भाषामा लेखिन्– यो रुकुमको ठगबाट सबै सचेत रहनुहोस्। मलाई त ठग्यो, तपाईँहरू बच्नुहोस्।

यी युवक हुन् महोत्सक आयोजक डिल्ली परियार । उनले एलिनालाई हालै रुकुम पश्चिमको आठबीसकोट गाउँपालिकास्थित राडीमा भइरहेको महोत्सवमा लगेका थिए । एलिनाले महोत्सवमा प्रस्तुति दिएर फर्किएपश्चात डिल्लीमाथि सार्वजनिक आक्रोश पोखेकी हुन् ।

उनले अर्को पोस्टमा उनै परियारलाई लक्षित गर्दै लेखेकी छन्, ‘मेरो अगाडि दु:ख देखाइस् भने बरु दान दिन्छु तर मलाई छल्ने काम गरिस् भने फल राम्रो पाउँदैनस् ।’

चर्चित गायिकाले फोटै राखेर आफूलाई ठगको बिल्ला भिराइदिएपछि परियारले जवाफ नदिने कुरै भएन । उनले सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै एलिनाको प्रतिवाद गरेका छन् । एलिनाले आफ्नो अभिव्यक्ति नसच्याए आफू कानुनी प्रक्रियामा जाने चेतावनीसमेत उनको छ ।

एलिना र डिल्लीबीचको विवाद जहाजको टिकटलाई लिएर भएको हो । महोत्सवका लागि एलिना काठमाडौंबाट सुर्खेतसम्म प्लेनमा गइन्, जसको टिकट डिल्लीले पठाइदिएका थिए । त्यहाँबाट राडीसम्म आयोजकले पठाएको बोलेरोमा गइन् ।

२३ गते साँझ ६ बजेदेखि ७ बजेसम्म राडीमा प्रस्तुति दिइन् । भोलिपल्ट उनी काठमाडौं फर्किने तालिका थियो । तर, सुर्खेतबाट काठमाडौंसम्मको टिकट पाइएन । टिकट नपाइएपछि आफूले नेपालगन्ज–काठमाडौंको प्लेन टिकट बुक गरिदिएको डिल्लीको भनाई छ । आफूले नेपालगन्जको टिकट बुक गरिदिए पनि एलिना भने सुर्खेतमा आएर होटेल बुक गरेर बसेको डिल्लीको दाबी छ ।

एलिना भने डिल्लीले झुक्याएको भन्दै आक्रोशित बनेकी छन् । उनको दाबीअनुसार डिल्लीले नेपालगन्जको टिकट काटेको नभएर बुद्ध एयरका कर्मचारीलाई फोन गरेर बुझेका मात्र हुन् । आफूले कयौं पटक फोन गर्दा पनि डिल्लीले नउठाएको, म्यासेजको रिप्लाई नगरेको उनको गुनासो छ ।

डिल्लीले आफूलाई मात्र नभएर पशुपति शर्मा, टंक बुढाथोकीहरुलाई समेत ठगेको भन्दै एलिनाले नेपाल प्रेसलाई बताइन् ।

डिल्लीको पनि एलिनाप्रति गुनासो छ । आफूले दशकौंदेखि महोत्सवहरु आयोजना गरिरहेको र एलिनालाई छैटौंपटक लगेको उनले बताएका छन् । आजका दिनसम्म यस्तो लफडा नपरेको भन्दै उनले सिधै आफूलाई ठग भनेकोप्रति चित्त दुखाएका छन् । यदि एलिनाले सार्वजनिक रूपमा माफी नमागे कानुनी प्रक्रियामा जाने डिल्लीले नेपाल प्रेसलाई बताए ।

पल शाह जेलबाट छुटेपछि सबैभन्दा पहिले होलिकोप्टरबाट रुकुम लैजानेदेखि दुर्गेश थापाको भव्य कार्यक्रम समेत आफूले सफल बनाएको बताउँदै उनले एलिनाले आफ्नो सार्वजनिक जीवनमा हिलो छ्याप्ने काम गरेको आरोप लगाए । यस लफडाबारे एलिना र डिल्ली दुवैजनाले नेपालप्रेससँग बताएका कुरा यस्ता छन्:

त्यो मान्छे ठग नै भएकाले त्यति लेखेकी हुँ – एलिना चौहान

कहिलेकाहीँ पारिश्रमिकमा पाँच–दश हजार कम हुनु ठूलो विषय होइन । कहिलेकाहीँ आयोजकले कम पैसा दिएरै पठाउँछन् । तर, यसपटक डिल्लीले मलाई बिजोग बनायो । मलाई मात्र होइन, उसले अरू कलाकारलाई पनि बिजोग बनाएको रहेछ । पशुपति शर्मा, टंक दाइ, एन्जिला रेग्मीहरुलाई पनि यस्तै गरेको रहेछ । मलाई जस्तै एयरपोर्टमा पुग्दा टिकट नै छैन भनेको रहेछ । यसको प्रमाण पनि मसँग छ ।

म एक्लै राडीबाट रातभर १० घण्टाको बाटो हिँडे । मैले टिकट पठाइदिनु न भोलिको भनेर भनेकी थिएँ । सुर्खेत आइपुगेपछि फोन गरेँ । कयौंपटक फोन गर्दा पनि उठेन । म्यासेजमा बुद्ध एयरको स्टाफको नम्बर दियो । त्यो नम्बरमा फोन गर्दा उसले (डिल्लीले) नेपालगन्जमा टिकट होल्ड मात्र गरेको रहेछ ।

तर, गाडीले मलाई सुर्खेतमा ल्याएर छाडिदियो । त्यहाँबाट मलाई नेपालगन्ज कसले पुर्‍याइदिने ? म सुर्खेतमा अलपत्र परेँ । जति पटक फोन गर्दा पनि उसले नउठाएपछि म दिमाग खराब भयो । आज काठमाडौंमा मेरो चारवटा रेकर्डिङ थियो । ती सबै रेकर्डिङ मैले क्यान्सिल गर्नुपर्‍यो ।

आयोजकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । कलाकारलाई अलपत्र पारेर हिँड्ने होइन नि ! सुर्खेतबाट नेपालगन्ज पुग्न ३ घण्टा लाग्छ । तर, टिकट नै नकाटिदिएपछि कसरी नेपालगन्ज जाने ? म सुर्खेतमै अलपत्र परेपछि कति धेरै ठाउँमा फोन गरेँ । अन्तिममा सुर्खेतबाटै टिकट मिल्यो । काठमाडौं आएँ ।

यहाँ पैसाको कुरा छैन । एउटा टिकेटको लागि यति धेरै बबण्डर मच्चाउने मान्छे पनि म होइन । यति सानो कुरामा यत्रो हंगामा गर्नलाई मेरो दिमाग खुस्केको छ र ? अति गरेपछि त्यस्तो लेखेकी हुँ । मेरो आत्मसम्मान नै कुल्चिएर हिँडेपछि मैले त्यसरी लेखेकी हुँ ।

एलिनाले सार्वजनिक रूपमा माफी नमागे कानुनी प्रक्रियामा जान्छु – डिल्ली परियार

उहाँले आज बिहान सुर्खेत आउँदा पहिले नै दर्शन होटल बुक गरिसक्नुभएको थियो । होटेल बुक गरेपछि त्यहाँ आराम गर्न सक्नुहुन्थ्यो । सुर्खेतबाट काठमाडौं जाने दुईवटा फ्लाइटको टिकट पाइएको थिएन । त्यहाँबाट नेपालगन्ज जानुपर्ने अवस्था थियो । मैले नेपालगन्जमा बुद्ध एयरको टिकेट बुक गरिदिएको थिएँ । उहाँलाई त्यहाँको कर्मचारीको नम्बर पनि पठाइदिएको छु ।

टिकट होल्ड नै गर्ने हो, काटिहाल्ने होइन । यो कुरा नबुझेर उहाँ आत्तिनुभयो । आत्तिएपछि उहाँले मलाई त्यस्तो लेख्नुभयो । यहाँ मिसअन्डरस्टान्डिङ भएको हो ।

एलिना चौहानलाई मैले ६ वटा कार्यक्रममा बोलाइसकेको छु । मलाई मन पर्ने कलाकार पनि हो उहाँ । अरू कलाकारलाई मारमा पारेरै भए पनि उहाँलाई बढी पारिश्रमिक दिने गरेको छु । पहाडी जिल्लाहरुका महोत्सव आयोजकमध्ये सबैभन्दा बढी पारिश्रमिक दिने आयोजकमध्ये एक हुँ म । यसपटक अलि गाह्रो भएपछि उहाँलाई ८५ हजार दिएको थिएँ ।

अहिले उहाँले ममाथि जे बोल्नुभएको छ, त्यो उहाँको बचपन हो । प्लेन टिकटका लागि त्यस्तो बबण्डर मच्चाउन आवश्यक थिएन । पल शाह जेलबाट निस्कनासाथ हेलीकोप्टरबाट रुकुम लैजाने मान्छे म नै हो । दुर्गेश थापाको भव्य कार्यक्रमको आयोजना मैले नै गरेको थिएँ । अन्य थुप्रो कलाकारलाई सम्मानका साथ ल्याएको छु, पठाएको छु । सबैसँग मेरो राम्रो सम्बन्ध छ ।

तर, यसपटक एलिना चौहानले त्यस्तो आरोप लाउँदा मलाई एकदमै दुःख लागेको छ । त्यो आरोप उहाँले प्रमाणित गरेर देखाउनुपर्छ । प्रमाणित गर्न नसके सार्वजनिक रूपमा माफी माग्नुपर्छ । माफी नमागे म कानुनी प्रक्रियामा जान्छु ।