३७० रुपैयाँको बिरयानी मामिलामा कमेडियन प्रणीतले मागे माफी

३७० रुपैयाँको बिरयानी मामिलामा कमेडियन प्रणीतले मागे माफी


काठमाडौं । भारतका स्ट्यान्डअप कमेडियन प्रणीत मोरेले ‘३७० रुपैयाँको बिरयानी’सँग सम्बन्धित एक भिडियो भाइरल भएपछि सार्वजनिक रूपमा माफी मागेका छन्।

मोरेले शनिबार इन्स्टाग्राममा एउटा भिडियो अपलोड गरेका छन्, जसमा उनले माफी माग्दै भविष्यमा आफूलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, ‘तपाईंहरूले मेरो भिडियो हेर्नुभएको होला, जसका कारण मैले निकै आलोचना र घृणा सामना गर्नुपरेको छ। मलाई लाग्छ, म त्यो आलोचनाको केही हदसम्म पात्र पनि हुँ। जब म त्यो युवकसँग कुरा गरिरहेको थिएँ, उसले निकै आपत्तिजनक कुरा गरिरहेको थियो र त्यहाँ उपस्थित सबै मानिसहरू त्यसमा हाँसिरहेका थिए।’

मोरेले भने, ‘म पनि त्यस क्षणको उत्साहमा बगेँ र परिस्थितिलाई सही ढंगले बुझ्न सकिनँ। मैले चाहेको भए उसलाई त्यहीँ रोक्न सक्थेँ, तर त्यसो गर्न सकिनँ। यसबाट जसको पनि मन दुखेको छ, म सबैसँग क्षमा याचना गर्न चाहन्छु।’ यसका साथै मोरेले आफूविरुद्ध भइरहेको कानुनी प्रक्रियामा पूर्ण सहयोग गरिरहेको बताएका छन्। उनले आफूलाई अर्को अवसर दिन पनि आग्रह गरेका छन्। मोरेले भने, ‘म केवल यति अनुरोध गर्न चाहन्छु कि तपाईंहरू सबैले मलाई एक अवसर दिनुहोस्। म अझ राम्रो व्यक्ति बनेर देखाउनेछु।’

उनले थपे, ‘यो मेरो लागि एउटा ठूलो पाठ थियो। म आफूलाई सुधार्ने प्रयास गरिरहेको छु र आफ्नो सामग्री (कन्टेन्ट) मा पनि काम गर्नेछु।’

के हो घटना?

प्रणीत मोरेको कार्यक्रममा एक युवक हिमांशु जांगडाले आफू एक युवतीसँग डेटमा गएको र त्यहाँ बिरयानीमा ३७० रुपैयाँ खर्च गरेको बताएका थिए। त्यसको बदलामा उनले यौनजन्य अनुग्रह (सेक्सुअल फेभर) अपेक्षा गरेको र युवतीको असहमति हुँदाहुँदै पनि जबर्जस्ती व्यवहार गरेको बताएका थिए।

हिमांशुका यी भनाइ सुनेर कार्यक्रमका होस्टले हाँस्दै त्यसलाई प्रोत्साहन गरेको देखिएको थियो। छिट्टै उक्त कार्यक्रमको क्लिप सामाजिक सञ्जालमा भाइरल भयो र त्यसमाथि व्यापक प्रश्न तथा आलोचना उठ्न थाले।