लीला अनमाेल,काठमाडौँ।
कविता
बारीको डीलमा उभिएर हेर्छु
अम्बाको बुट्टाले माटो चपाउँदै जरा फैलाएछ
हिजोअस्ति मात्र पलाएको पालुवा
आज सिङ्गो आकाशतिर हात बढाउँदै हुर्किएछ।
खोरबाट फुत्किएको बाख्राको पाठो
मकैका ढोडहरू नाघ्दै, बुरुक-बुरुक उफ्रिँदै
बैँसको नयाँ पदचाप पछ्याउँदै बढेछ।
र, काँडाहरूको पहराभित्र लुकेको गुलाब
गर्वले छिप्पिएर, एउटा सिङ्गो मुस्कानझैँ कोपिलामा फक्रिएछ।
यी सब फेरिएका दृश्यहरू हेर्दा
छातीभित्र कतै आनन्दको मूल फुट्छ
लाग्छ— प्रकृति उत्सवलगायत मुस्कुराइरहेछ
सिर्जनाको यो फैलावट कति प्रिय लाग्छ!
ठीक त्यही बेला
साँझको मधुरो उज्यालो बोकेर म कोठाभित्र छिर्छु
र, भित्ताको ऐनाको सामुन्ने उभिन्छु।
ऐनामा एउटा अर्कै ऋतु चलिरहेको हुन्छ
जहाँ कपालका रेशामा हिउँ पग्लिन थालेको छ
आँखाको कुनाबाट समयले आफ्नै रेखाहरू कोरेको छ।
त्यहाँ न त अम्बाको जस्तो नयाँ हाँगा पलाउँछ
न गुलाबको जस्तो ताजा कोपिला नै लाग्छ।
त्यहाँ त
भविष्यको एउटा चिसो छायाँ सर्दै गरेको देखिन्छ।
धर्तीको हरेक अङ्कुरणमा उत्सव मनाउने यो मन
आफ्नै उमेरको पाना पल्टिँदा किन यसरी झस्किन्छ?
संसारको ‘बढ्नु’ मा जिन्दगी देख्ने आँखाले
आफ्नै ‘बढ्नु’ मा किन केवल घट्दै गएको आयु देख्छ?
प्रकृतिको यो कस्तो सुन्दर तर क्रूर विरोधाभास
जहाँ अरूको विकासमा उत्सव भेटिन्छ
तर आफ्नै उमेरको ऐनामा, केवल एउटा मौन उदासी भेटिन्छ!

प्रतिक्रिया