काठमाडौं । ट्युनिसियाले फिफा विश्वकप २०२६ को पहिलो खेलमै लज्जास्पद हार व्यहोरेपछि मुख्य प्रशिक्षक साब्री लामुचीलाई पदबाट हटाएको छ । यससँगै उनी विश्वकप इतिहासमै पहिलो खेलपछि बर्खास्त हुने पहिलो मुख्य प्रशिक्षक बनेका छन् ।
समूह ‘एफ’ अन्तर्गत आइतबार मेक्सिकोको ग्वाडालुपेस्थित एस्टाडियो मोन्टेरेमा भएको खेलमा स्विडेनसँग ट्युनिसिया ५–१ गोलअन्तरले पराजित भएको थियो ।
हारलगत्तै लामुचीलाई बर्खास्त गरिएको चर्चा भए पनि उनले सोमबार टोलीको प्रशिक्षण गराएका थिए । त्यसपछि ट्युनिसियाली फुटबल संघले दुवै पक्षको आपसी सहमतिमा उनको सम्झौता अन्त्य गरिएको पुष्टि गरेको हो ।
ट्युनिसियाले पूर्व मोरक्को तथा साउदी अरेबियाका प्रशिक्षक हर्भे रेनार्डलाई विश्वकपको बाँकी अवधिका लागि नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
५४ वर्षीय लामुची यसै वर्ष जनवरीमा सामी त्राबेल्सीको स्थानमा ट्युनिसियाको प्रशिक्षक बनेका थिए । त्राबेल्सीले अफ्रिका कप अफ नेसन्सको अन्तिम–१६ मा मालीसँग पराजित भएपछि पद छाडेका थिए ।
लामुचीको नेतृत्वमा ट्युनिसियाले पाँच खेल खेलेको थियो, जसमा हैटीविरुद्ध १–० को जित मात्र निकाल्न सफल भएको थियो । विश्वकपअघि भएको अभ्यास खेलमा ट्युनिसिया अस्ट्रियासँग १–० र बेल्जियमसँग ५–० ले पराजित भएको थियो ।
स्विडेनसँगको हारपछि लामुचीले नतिजालाई “पीडादायी” भन्दै टोलीले अत्यधिक गल्ती गरेको स्वीकार गरेका थिए ।
उनले भनेका थिए, “यति खराब हारबाट प्रतियोगिताको सुरुआत गर्नु निकै कठिन हो । हामीले धेरै गल्ती गर्यौं । यस्तो स्तरमा त्यसको मूल्य चुकाउनुपर्छ । हामी आफैंलाई क्षति पुर्याइरहेका छौं ।”
विश्वकप इतिहासमा यसअघि पनि प्रतियोगिताका क्रममा प्रशिक्षक परिवर्तन भएका उदाहरण छन् । सन् १९९८ को विश्वकपमा ट्युनिसियाले पहिलो दुई खेलमा जित निकाल्न नसकेपछि प्रशिक्षक हेनरिक कास्परचकलाई हटाएको थियो । सोही संस्करणमा दक्षिण कोरियाले लगातार दुई हारपछि चा बुम–कुनलाई बर्खास्त गरेको थियो भने सन् २०१८ मा स्पेनले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि जुलेन लोपेटेगुईलाई पदमुक्त गरेको थियो ।
तर, विश्वकपमा पहिलो खेल सकिएलगत्तै प्रशिक्षक हटाइएको यो पहिलो घटना हो ।
ट्युनिसियाले अब समूह चरणका बाँकी खेलमा जापान र नेदरल्यान्ड्सको सामना गर्नेछ ।

प्रतिक्रिया