काठमाडौं । बर्खायामका तीन महिना देशभरका संघीय सडक खन्न नपाइने भएको छ ।
सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न कुनै पनि स्वीकृति नदिइने जनाएको हो ।
कार्यालयका अनुसार वर्षायाममा खानेपानी, ढल, विद्युत्, टेलिफोनलगायत पूर्वाधार निर्माण वा मर्मतका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा फर्काउन कठिन हुने र यसले सडक थप क्षतिग्रस्त बनाउने भएकाले उक्त अवधिभर सडक खन्न रोक लगाइएको हो ।
सूचनामा कार्यालयअन्तर्गतका सबै सडक डिभिजन मातहत रहेका संघीय सडकमा असार १ देखि भदौ मसान्तसम्म सडक खन्ने अनुमति नदिइने उल्लेख गरिएको छ ।
कार्यालयले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई यस व्यवस्थाको पालना गर्न आग्रह गर्दै अनुमतिविना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया