काठमाडौं महानगरले ल्यायो करिब २६ अर्बको बजेट

काठमाडौं महानगरले ल्यायो करिब २६ अर्बको बजेट


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर सभामा कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्दै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्ताव गरेकी हुन् ।

प्रस्तावित बजेटअनुसार सञ्चित कोषमार्फत २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारका लागि छुट्याइएको छ ।

यसअघि महानगरले चालु आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत गरेको थियो । आगामी आर्थिक वर्षको बजेट चालु आवको तुलनामा केही वृद्धि गरिएको हो ।

डंगोलका अनुसार आगामी आवमा सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यसमध्ये महानगरको आन्तरिक आय तथा बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त अनुदान, वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । जनसहभागिताबाट थप १ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ ।

क्षेत्रगत बजेट विनियोजनमा पूर्वाधार विकासले सबैभन्दा ठूलो हिस्सा पाएको छ । यस शीर्षकमा कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।

आर्थिक विकासतर्फ ५४ करोड १८ लाख २० हजार रुपैयाँ (२.१ प्रतिशत), सामाजिक विकासतर्फ २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ (९.६ प्रतिशत) तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रका लागि २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ (८.५ प्रतिशत) विनियोजन गरिएको छ ।

त्यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ अर्थात् कुल बजेटको १८.८ प्रतिशत छुट्याइएको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्दै सेवा प्रवाह, सामाजिक विकास र प्रशासनिक सुधारलाई समेत सन्तुलित रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।