बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक

बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक


काठमाडौं । आगामी नेपाली चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार उक्त पोस्टर जारी गरेको हो । पोस्टरमा मुख्य दुई पात्र तनावपूर्ण अवस्थामा देखिएका छन् ।
पोस्टरले चलचित्रका मुख्य पात्र ‘बा’को परिचय खुलस्त पारेको छ । ‘बा’को भूमिकामा दिव्य देव रहेको पुष्टि भएको छ । चस्मा लगाएका दिव्य देव तनावग्रस्त मुद्रामा देखिन्छन् भने उनीसँगै उनकी छोरीको भूमिकामा सुहाना थापा छन् । सुहाना सामान्य गाउँले पहिरनमा झोला बोकेर हिँडिरहेको देखिन्छिन् ।
पोस्टरको पृष्ठभूमिमा चार सदस्यीय सानो परिवारको तस्बिर, फलैंचामा बसिरहेका बाबुआमा, आकाशमा उडिरहेको हवाईजहाज, मोटरसाइकल र जग्गाको लालपुर्जा देख्न सकिन्छ । यसले नेपाली मध्यम वर्गीय परिवारमा सन्तानको उज्ज्वल भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र वैदेशिक रोजगारीको पीडादायी यथार्थलाई संकेत गर्दछ ।
दिव्य देवको अपोजिटमा झरना थापा आमाको भूमिकामा छन् । पोस्टरले झरना र सुहाना आमाछोरीको भूमिकामा रहेको पनि खुलासा गरेको छ ।
चलचित्रमा सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकीको पनि मुख्य भूमिका छ । हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो चलचित्र भदौ १९ गते कुसे औँसीको दिन रिलिज हुँदैछ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मले नेपाली समाजको वास्तविक चयम र बुबाको संघर्षको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।